पानासोनिक लाइफ सोलुसन्स इण्डियाले नेपालमा पहिलो अन्तर्राष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम उद्घाटन गरेको छ।
कम्पनीले नेपालस्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनसँगको सहकार्यमा टेकुको तारा भवनमा २१औं शोरुमको बिहीबार उद्घाटन गरेको हो।
पानासोनिक लाइफ सोलुसन्स इण्डियाले सन् २०२३ भित्र दक्षिण एशियाली मुलुक सार्क क्षेत्रमा ३१ शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
पानासोनिक सोलुसन्स भारतमा विद्युतीय निर्माण सामग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादकमध्ये एक हो।
इसिएमबाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउसिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा पनि काम गर्दै आएको छ।
अत्याधुनिक उत्पादन डिजाइनसाथ शोरुमले उच्चस्तरीय पानासोनिक उत्पादनहरू जस्तै मोड्युलर किचेन, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इएसटी), लुगा सुकाउने प्रविधि, रिभोल्भिङ सुज र्याकलगायतका हाउजिङ सोलुसनको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।
हरेक क्षेत्रमा नयाँ-नयाँ प्रविधि प्रति उपभोक्ताको आकर्षण बढ्दो क्रममा रहेको र नेपालमा पनि प्रविधिप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ।
कम्पनीले प्रारम्भिक चरणमा सहरी उपभोक्तालाई नवीन आवास समाधान प्रदान गर्ने लक्ष्य लिएको छ।
पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताले काठमाडौंका रियलस्टेट व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर र उपभोक्तालाई परिस्कृत सुरक्षा, आराम र सुविधाको अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकका रूपमा काम गर्ने कम्पनीको दाबी छ।
पानासोनिक लाइफ सोलुसन्स इण्डियाको साझेदार नेपालस्थित रुक्मणी इन्टरनेशनलका आदित्य बुधियाले भने 'रुक्मिणी इन्टरनेशनल पानासोनिक लाइफ सोलुसन्स इण्डियाको नयाँ साझेदारीबाट निकै उत्साहित छ।'
उनले भने 'प्यानासोनिक लक्जरी किचेन्स एसियाली आवासका लागि निकै उपयोगी छन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनमा कार्यक्षमता खोज्ने ग्राहकको माग पूरा गर्नेछ। हामी यसका ब्रान्डका लागि ठूलो अपेक्षा साथ आएका छौं।'