सरकारले सबै प्रकारका मदिरा, १५० सिसी माथिको मोटरसाइकल, तीन सय डलर माथिको मोबाइल र सवारीमा लगाएको प्रतिबन्ध पुसबाट हटाए पनि समग्र वस्तुको आयात भने घटेको छ।
साउनदेखि मंसिरसम्ममा कुल सात खर्ब ९२ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ।
तर, मंसिर महिनामा मात्रै मासिक एक खर्ब ३२ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब रूपैयाँको आयात थपिएको हो।
मंसिरको तुलनामा पुसमा सामान आयात तीन प्रतिशतले घटेको हो। कात्तिक महिनामा एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको सामानको आयात भएको थियो।
मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै सरकारले गत वैशाखबाट १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।
तर, पछि विभिन्न वस्तुको आयात प्रतिबन्ध खुला गरेपनि सबै प्रकारका मदिरा, १५० सिसी माथिको मोटरसाइकल, तीन सय डलर माथिको मोबाइल र सवारी साधानमा लगाएको प्रतिबन्ध भने मंसिरअन्त्यसम्म कायम राखेको थियो।
मंसिरको तुलनामा स्मार्ट फोनको आयात ११.४१ प्रतिशतले बढेको छ। साउनदेखि मंसिरसम्ममा आठ लाख तीन हजार आठ सय १८ थान मोबाइल आएकोमा पुसमा मात्रै ९१ हजार थान मोबाइल थप आयात भएर कुल मोबाइल आयात आठ लाख ९५ हजार पाँच सय ७९ थान पुगेको छ।
साउनदेखि मंसिरसम्ममा कुल ११ अर्ब २० करोड बराबर रकमको स्मार्ट फोन आएकोमा पुसमा एक अर्ब ८० करोड रूपैयाँको यस्तो फोनको आयात थपिएर कुल १३ अर्ब रूपैयाँ बराबरको आयात भएको छ। प्रतिबन्धित मोबाइल नै कति आए भनेर भन्सारले अलग्गै तथ्यांक सार्वजनिक गरेको छैन।
सरकारले कच्चा पदार्थको रुपमा प्रयोग हुने बाहेक सबैप्रकारका तयारी मदिरामा प्रतिबन्ध लगाएको थियो। साउनदेखि मंसिरसम्ममा कुल एक लाख ६५ हजार लिटर बराबरको १७ करोड ६४ लाख रूपैयाँ बराबरको मदिरा आयात भएको थियो।
पुस एउटै महिनामा आठ करोड ३१ लाख रूपैयाँ बराबरको ५० हजार लिटर मदिरा आयात थपिएको हो। साउनदेखि पुससम्ममा कुल २५ करोड ९६ लाख रूपैयाँ बराबरका दुई लाख १५ हजार लिटर मदिरा आयात भएको छ।
त्यस्तै, साउनदेखि मंसिरसम्ममा ८९ करोड ९५ लाख रूपैयाँ बराबरको एक सय २५ सिसीदेखि दुई सय ५० सिसीसम्ममा ६ हजार एक सय चार वटा मोटरसाइकल आयात भएको थियो।
पुस एउटै महिनामा १४ करोड २१ लाख रूपैयाँ बराबरको एक हजार दुई सय ८१ मोटरसाइकलको आयात थपिएको हो।
साउनदेखि पुससम्ममा कुल १० अर्ब ४१ करोड रूपैयाँ बराबरका सात हजार चार सय ४५ वटा मोटरसाइकल आयात भएको छ।
साउनदेखि मंसिरसम्ममा ५९ करोड ३९ लाख रूपैयाँ बराबरको पाँच सय ८७ वटा एक हजार देखि दुई हजार सिसी माथिका इन्जिनका गाडी आयात भएको थियो।
पुस एउटै महिनामा सात करोड १४ लाख रूपैयाँ बराबरको ६० वटा गाडी आयात थपिएको हो। साउनदेखि पुससम्ममा भने कुल ६६ करोड ५३ लाख रूपैयाँ बराबरका ६ सय ४७ वटा गाडी आयात भएका हुन्।
साउनदेखि पुससम्ममा कुल वस्तु आयात गत वर्षको यही अवधिको तुलनामा २०.६८ प्रतिशतले घटेर सात खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ।
त्यस्तै, यो अवधिमा निर्यात पनि ३२.०१ प्रतिशतले घटेर ८० अर्ब रूपैयाँमा सीमित भएको छ। मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब रूपैयाँ पुगेको छ।