कम्प्युटर इञ्जिनियरिङ पढेर भारतमा जागिर गरिरहेका थिए सन्दीप खनाल। रूपन्देहीको शुद्धोधन गाउँपालिका–३, बेतहानी घर भएका उनी बाख्रा पाल्छु भन्दै फर्किए।
आमा राधा छक्क परिन्। रिसाएर गाली पनि गरिन्।
राधाका दुई छोरा छन्; सन्दीप र सञ्जय। छोराहरू सानै छँदा उनका श्रीमान बिते। जस्तै आपत आइलागे पनि छोराहरूको पढाइमा अभाव हुन दिइनन्। उनीहरूले रोजेकै विषय पढाइन्।
प्रवेशिकादेखि स्नातकसम्म भारतमै पढेका सन्दीपले कम्प्युटर इञ्जिनियरिङ गरे। विशिष्ट श्रेणीमा स्नातक उत्तीर्ण भए। भाइ सञ्जय दिल्लीमा चाटर्ड एकाउन्टेन्सी (सिए) पढ्दै थिए। सन्दीप भारतकै एउटा सूचना-प्रविधि (आइटी) कम्पनीमा काम गर्थे। कमाइ राम्रो थियो। तर उनको मन रमेन।
'अर्काको देशमा, अर्कैको कम्पनीमा काम गर्दाका अनेक हैरानी थिए,' उनले भने, 'दुई वर्षको अनुभवपछि अब यसरी काम गरेर हुँदैन भन्ने लाग्यो।'
उनले स्नातकोत्तर पढ्न क्यानडा जाने प्रक्रिया पनि अघि बढाएका थिए। २०७२ सालमा भूकम्प गएपछि असारमा घर आए।
नेपालमा कृषि र पशुपालनमा राम्रो सम्भावना छ भन्ने लागेको थियो उनलाई। बाख्रा पाल्ने योजनाको एउटा खाका बनाए। आमालाई सुनाए। इञ्जिनियर छोराले छँदाखाँदाको राम्रो जागिर छाडेर बाख्रा पाल्छु भनेको चित्त बुझ्ने कुरै भएन। उनले सम्झाउन खोजिन्।
आमाछोराको कुराकानी हुँदै नै थियो। भारतले नाकाबन्दी गरिदियो। यो घटनापछि विदेशप्रतिको सन्दीपको धारणा झनै बदलियो। उनले भारतको जागिर त के, क्यानडा जाने प्रक्रिया पनि त्यागिदिए।
'भारतमा जागिर गर्दा नै त्यहाँको हेपाहा प्रवृत्तिले मेरो मन कुँडिएको थियो। भूकम्पले थिचिएका बेला नाकाबन्दी लगाएपछि आफ्नै देशमा बसेर आफ्नै काम गर्ने अठोट गरेँ,' उनले भने।
जागिर र क्यानडाको योजना छाडेपछि उनले आमालाई बाख्रापालनबारे राम्ररी बुझाए। राधाले पनि स्वीकृति दिइन्।
अनि २०७२ पुसमा जिल्ला पशु कार्यालय, रूपन्देहीमा सन्दीपले दर्ता गरे 'एसके गोट फर्म'।
आमाले पाँच लाख रूपैयाँ ऋण खोजिदिइन्। आफूसँग भएको समेत जोरजाम गरेर सानो खोर बनाए। गोटाको १२ हजार रूपैयाँमा उन्नत जातका ३० वटा बाख्रा किने।
काम धमाधम सुरू भयो।
बाख्रा स्याहार्न थालेपछि उनलाई खिसिट्युरी गर्नेको कमी भएन- जागिर र पढाइ छोडेर बाख्रा पाल्न थाल्यो, गोठालो भयो!
सन्दीप कसैका कुरा नसुनी काममा लागिरहे। फर्म विस्तार गर्न बैंकबाट ऋण लिन खोजे।
'जग्गाको कारोबार मौलाएको समय थियो। बाख्रापालनमा बैंकहरूले ऋण पत्याएनन्,' उनले भने, 'निकै मुश्किल भयो।'
झन्डै एक वर्ष धाएपछि एउटा बैंकले ७० लाख रूपैयाँ दियो। सन्दीपले फर्म विस्तार गरे। व्यवसायको लक्षण राम्रो देखियो। अर्को एक वर्षमा अर्को बैंकले एक करोड रूपैयाँ ऋण दियो। बिटल र सिरोई जातका बाख्राबाट सुरू गरेका उनले बोयर जातका दुई सय थप वटा बाख्रा किने। व्यवसाय विस्तार गर्दै लगे।
अहिले फर्ममा माउ बाख्रा, पाठापाठी र बोका गरी ६ सय वटा बाख्रा छन्। करिब सात वर्षमा फर्ममा लगानी चार करोड रूपैयाँ पुगेको छ। फर्मले ओगटेको १२ कट्ठा जमिन सन्दीपकै परिवारको हो।
सन्दीपलाई चार वर्षदेखि फर्मको काममा सघाइरहेका छन् उनका भाइ सञ्जयले। भारतबाट फर्केर उनी पनि दाइसँगै काममा लागेका हुन्।
'हालसम्म ६ करोड रूपैयाँको बाख्रा बेच्यौं,' उनी भन्छन्, 'गत वर्ष तीन करोडका बोका र पाठी बेचेँ। अहिले पनि झन्डै एक करोड जतिका बोका बिक्रीका लागि तयार भएका छन्।'
उनका अनुसार बिउका लागि बोयरको व्यापार निकै राम्रो छ। मासुका लागिभन्दा बिउ बोकाको मूल्य पनि धेरै हुन्छ। उनले एउटै बिउ बोका ४० हजारदेखि दुई लाख रूपैयाँसम्ममा बेच्ने गरेका छन्। मासु बेच्दा तौलअनुसार मात्रै मूल्य आउँछ।
'तर बिउका लागि हाडनाता छुट्याएर बोका उत्पादन गर्ने फर्म थोरै छन्,' उनले भने, 'पशुपालनमा हाडनाताले ठूलो असर पर्छ। हाडनाताभित्रका बोकाको बिउबाट जन्मिएका पाठापाठी राम्ररी सप्रिँदैनन्, रोगी हुन्छन्। सात पुस्तासम्मको बिउ पनि राम्रो हुँदैन।'
आगामी दुई वर्षभित्र फर्ममा एक हजार बाख्रा पुर्याउने सन्दीपको योजना छ। आधुनिक खोर बनाएका छन्। सुरूसुरूमा बाख्रालाई घाँस मात्र खान दिन्थे, अचेल 'साइलेज' पनि खुवाउँछन्। त्यस्तै दुई बिघा जमिनमा घाँस रोपेका छन्।
हरियो घाँसको पोषण तत्व कायमै राखेर आवश्यकता अनुसार सुख्खा समयमा प्रयोग गर्न सक्ने अवस्थामा स्टोर गरेर राखिएको विभिन्न प्रजातिको घाँसलाई साइलेज भनिन्छ। सन्दीपहरू मकैको बोटबाट बनाउँछन्। मेसिनले मसिनो गरी काटेको मकैको बोटको टुक्रा हावा नछिर्ने गरी मेसिनले प्याक गरेपछि साइलेज तयार हुन्छ।
उनीहरूले तीन वर्षअघिदेखि माइलेज उत्पादन गरिरहेका हुन्। यसका लागि ७० बिघा जमिन भाडा लिएर मकै रोप्छन्। अरू किसानबाट पनि मकै किन्छन्।
साइलेज र घाँस खेतीका लागि दर्ता छ- एसके खनाल एग्रो कम्पनी प्रालि। यो उद्योगको सबै काम भाइ सञ्जयले हेर्छन्। सन्दीप बाख्रा फर्म सम्हाल्छन्।
'हामीकहाँ साइलेज उत्पादन गर्ने उद्योग थोरै छन्। किन्दा खर्च धेरै हुन्छ। यही बुझेर आफैंले उत्पादन थाल्यौं,' सन्दीपले भने, 'यो त बेचेर पनि कमाउन सकिने भयो।'
साइलेज हाल प्रतिकिलो १२ रूपैयाँमा बिक्छ। प्याक गरेर राखिएको साइलेज दुई महिनादेखि दुई वर्षसम्म खुवाउन सकिन्छ। साइलेज बनाउँदा मकै (फल) पनि मिसाइने भएकाले यसले दानाको काम गर्छ।
'हामी वार्षिक सात करोड मूल्य बराबरको साइलेज उत्पादन गर्छौं। दुई करोड जतिको उत्पादन आफ्नै फर्ममा खपत हुन्छ। बाँकी विभिन्न जिल्लाका किसानले किन्नुहुन्छ,' उनले भने।
सहरी क्षेत्रका पशुपालन फर्महरू पनि साइलेजमै निर्भर रहेको सन्दीप बताउँछन्। साइलेज खाने जनावरलाई रोग लाग्ने सम्भावना कम हुन्छ। गाईभैंसीको दूध बढ्छ। बाख्रा छिटो सप्रिन्छन्। हामीकहाँ पशुपालनको प्रशस्त सम्भावना भए पनि पशु आहारको उचित व्यवस्थापन नहुँदा लगानीअनुसार लाभ लिन नसकेका किसान धेरै भएको उनले बताए।
सन्दीपका अनुसार उनीहरूको फर्म प्रदेशभरमै एक नम्बर अर्थात् उत्कृष्ट मानिएको छ। जिल्ला पशुसेवा कार्यालयबाट १५ हजार र गाउँपालिकाबाट गोठ सुधार कार्यक्रममार्फत ५० हजार रूपैयाँ अनुदान पाएका छन्। तर सरकारले वास्तविक किसानलाई भन्दा पनि झोलामा फर्म बोकेर धाउनेलाई अनुदानमा दिने गरेको उनको गुनासो छ।
'फाइल बोकेर सिंहदरबार र मन्त्री निवास पुग्न नसक्ने वास्तविक किसानले ऋण पाउँदैन,' उनले भने।
सरकारले वितरण गर्ने अनुदानको प्रक्रिया नै गलत रहेको पनि उनको भनाइ छ। उत्पादनको लागत र उत्पादन परिमाणका आधारमा अनुदान दिने दिने हो भने वास्तविक किसान समेटिने उनको धारणा छ।
सन्दीपको फर्मलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले 'नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना' मार्फत ८८ लाख रूपैयाँ अनुदान दिने निर्णय गरेको छ। लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत अटोमेटिक साइलेज ब्यालर मेसिन खरिदका लागि ८ लाख रूपैयाँ अनुदान पनि पाएको छ। यो रकम र थप ऋणबाट फर्म विस्तार गर्ने तयारीमा छन् खनाल दाजुभाइ।
बाख्रापालनले अहिले दाजुभाइलाई मात्रै होइन, सिंगो परिवारलाई खुसी दिएको छ। इञ्जिनियर र सिएले बाख्रा पालेको भनेर खिसीट्युरी गर्नेहरू सराहनामा लागेका छन्।
सबभन्दा खुसी आमा राधालाई नै छ।
'इञ्जिनियर छोरोले बाख्रा पाल्छु भन्दै आउँदा गोठालो हुने भइस् भनेर गाली गरेकी थिएँ,' उनले भनिन्, 'अहिले छोराहरूले राम्रो काम गरेको देखेर खुसी लागेको छ।'