बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो।
भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए।
त्यसका लागि व्यवसायीसँग आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने समेत उनले बताए।
मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशका समेत जारी गर्न आग्रह गरे।
भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी व्यवसायीहरूले भोग्नु परेका विविध समस्याका बारेमा जानकारी गराएका थिए।
त्यसक्रमा उपाध्यक्षद्वय पवन कुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाई बज्राचार्य र सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो।