नेपाली अहान छ– भाइ फुटे गँवार लुटे।
भाइ जुटे भने के होला!
यसको उदाहरण हुन् स्याङ्जाको बिर्घा पुर्ख्यौली थलो भएका थैव दाजुभाइ।
हालको कालिगण्डकी गाउँपालिका, बिर्घाका रैथाने थिए ऋषिश्वर थैव। उनी गाउँमै कपडा पसल चलाउँथे, २०१४ सालमा सुरू गरेका थिए। त्यही पसलको आम्दानीले उनले आफ्नो परिवार चलाए।
ऋषिश्वरका पाँच छोराहरू भुवन, यज्ञेश्वर, राजेश, विश्वेश्वर र महेश बुबाकै पसलमा खेल्दै हुर्के, बढे। दिउँसो स्कुल जान्थे। बिहान–बेलुका पसलमा बुबालाई सघाउँथे।
छोराहरू हुर्किँदै गएपछि ऋषिश्वर २०३७ सालमा माइलो छोरो यज्ञेश्वरलाई लिएर स्याङ्जाकै गल्याङमा सरे। त्यही कपडा पसल चलाए। जेठा छोरा भुवन २०४५ सालमा बुटवल आए। उनले 'निर्माण हार्डवेयर' नामबाट निर्माण सामग्रीको पसल सुरू गरे। हार्डवेयरको व्यापार निकै फस्टायो।
व्यापार राम्रो भएपछि २०५६ सालमा थैव परिवार नै स्याङ्जा छोडेर बुटवल सर्यो। ऋषिश्वरले बुटवलकै अमरपथमा 'थैव वस्त्रालय' नामबाट कपडाकै पसल सुरू गरे। विश्वेश्वरले भैरहवामा फेन्सी पसल खोले।
२०६४ सालमा फेन्सी पसलको साटो छालाजुत्ता उत्पादन गर्ने उद्योग चलाउने योजना बनाए। यो योजना सार्थक बनाउन पाँचै दाजुभाइले संयुक्त प्रयास गरे। उनीहरूले आफ्नो समूहलाई नाम दिए 'आवास ग्रुप'।
यो समूहले योजनाअनुसार सबभन्दा पहिला छालाजुत्ता उद्योग स्थापना गर्यो। तर यो उद्योग तीन वर्षमा बन्द भयो। पहिलो उद्योग बन्द भए पनि आवास समूह पछि हटेन। अरू उद्योग चलायो। त्यसपछि विभिन्न उद्योग खुल्ने क्रम जारी छ।
आवास समूहले दस वर्षदेखि उद्योगमा लगानी बढाउँदै लगेको हो। अहिले रूपन्देहीका मणिग्राम, कोटिहवा, बुटवल र भलुहीमा गरी समूहले डेढ दर्जन उद्योग र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको छ। आवास आलुमिनियम, लक्ष्मी स्टिल, एभरेस्ट फुड एन्ड बेभरेज, ज्याक्वर पाइप एन्ड फिटिङ्स, मयुर स्टिल, शुभलक्ष्मी प्लास्टिक, नेसनल रबर, आवास स्टिल एन्ड फर्निचर, जिआई सन फिटिङ्स, डुंगारी गार्मेन्ट लगायतका उद्योग सञ्चालनमा छन्।
पहिलो जुत्ता उद्योग असफल भए पनि 'डुंगारी सुज इन्डस्ट्रिज' नाममा अर्को जुत्ता उद्योग सञ्चालनमा छ। व्यापारतर्फ आवास मार्बल, आवास साडी, पञ्चरत्न ट्रेडिङ, आवास इम्पोर्ट हाउस, एमएसआई ट्रेड लिंक सञ्चालित छन्।
आवास समूहको प्रबन्ध निर्देशकको जिम्मेवारी कान्छो भाइ महेशले लिएका छन्। जेठा भुवन र साइँला राजेश व्यापारिक प्रतिष्ठान हेर्छन्। माइला यज्ञेश्वर र कान्छा महेशले उद्योग हेर्छन्। ऋषिश्वर र काइँला भाइ विश्वेश्वरको भने केही वर्षअघि निधन भयो।
'पारिवारिक समूह भएकाले सबै उद्योग र प्रतिष्ठानहरूको जिम्मेवारी पनि दाजुभाइ र छोराहरूले बाँडफाँट गरेर लिएका छौं। उद्योगको प्राविधिक क्षेत्र माइलो दाइ यज्ञेश्वरले हेर्नुहुन्छ। प्रशासनिक क्षेत्र म हेर्छु,' महेशले भने, 'अहिले त हाम्रा छोराहरू पनि उद्योग र व्यापार चलाउन तयार भइसके।'
चार दाजुभाइ र उनीहरूका छोराहरू सबै आवास समूह अन्तर्गतका उद्योग र प्रतिष्ठानको जिम्मेवारीमा छन्।
भुवनको छोरा कल्याणले आवास मार्वल, यज्ञेश्वरका छोरा विमोचनले ज्याक्वर धारा र राजेशका छोरा विधानले लक्ष्मी स्टिलको जिम्मेवारी लिएका छन्।
थैव परिवारमा हरेक दिन साँझको खानापछि भोलिका कामहरूबारे छलफल हुन्छ।
'बिहान आआफ्नो काममा हिँडेपछि हामी सबै दाजुभाइ र छोराहरूको भेट साँझमा मात्र हुन्छ। साँझको खाना सबै सँगै बसेर खान्छौं,' महेश भन्छन्, 'त्यही बेला भोलिको कामको रूपरेखा बनाउन छलफल गर्छौं।'
महिनाको दुईपटक सबै उद्योग र प्रतिष्ठानहरूको सामूहिक बैठक हुन्छ। कुनै उद्योगमा समस्या आइपरे सबै मिलेर समाधान गर्छन्।
'दाजुभाइहरू अलगअलग भएको भए यसरी उद्योग विस्तार गर्न सकिने थिएन होला। सामूहिकतामा एकता र शक्ति हुन्छ भनेको यही होला,' महेश भन्छन्, 'बुबाआमाले मिलेर बस्न सिकाउनुभयो। अहिले हामी पनि छोराहरूलाई त्यही कुरा सिकाउँदै छौं।'
हरेक वर्ष उद्योग र लगानी थपिँदै गएकाले आवास समूहमा कुल लगानी कति छ भनेर ठ्याक्कै भन्न नसकिए पनि दुई अर्ब रूपैयाँ हाराहारी पुगेको यज्ञेश्वरको भनाइ छ। उनका अनुसार हाल सबै उद्योग र व्यापारिक प्रतिष्ठानमा गरी कम्तीमा तीन हजार जनाले रोजगारी पाएका छन्।
आवास समूह निरन्तर अघि बढ्दै गए पनि अनेक कठिनाइ सामना गर्नु गरेको थैव दाजुभाइहरूको अनुभव छ। यज्ञेश्वरका अनुसार बाहिरबाट हेर्दा उद्योग–व्यवसायमा सजिलो देखिए पनि काम गर्न गाह्रो छ। गाह्रो पार्ने चाहिँ अरू केही नभएर सरकारी नीति हो।
'बाहिरबाट देख्नेलाई त राम्रै छ। एक दर्जन उद्योग र चार-पाँच वटा प्रतिष्ठान चलाएको देख्नुहुन्छ,' यज्ञेश्वर भन्छन्, 'तर कतिपय सरकारी नीतिका कारण उद्योग सञ्चालन कठिन छ।'
रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने उद्योगको संरक्षणका लागि सरकारको ठोस नीति नहुँदा लगानी गर्न चाहनेहरू खुम्चिएर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
'उद्योगीहरू एउटा कामका लागि ५० ठाउँ धाउनुपर्छ। उद्योग चलाउने कि सरकारी कार्यालय धाउने,' उनले भने, 'कार्यालय धाउँदा धाउँदै उद्योग खोल्नै नसक्ने गरी लगानीकर्ता हतोत्साही हुन्छ।'
कठिनाइहरू सामना गर्दै आवास समूह अघि बढेको छ आजको सफलता दाजुभाइ एकता र आपसी विश्वासको परिणाम भएको उनी बताउँछन्।
यज्ञेश्वरको चित्रकला
आवास समूह अन्तर्गतका डेढ दर्जन उद्योग र व्यापारिक प्रतिष्ठानका सञ्चालक यज्ञेश्वर चित्रकला र डिजाइनका सौखिन हुन् भन्ने कमैलाई थाहा छ। उनी दिनभर उद्योग र व्यापारिक प्रतिष्ठानहरूको रेखदेख र कर्मचारीहरूको खटनपटनमा व्यस्त हुन्छन्। थोरै फुर्सद भयो कि चित्र कोरेर रङ भर्न थालिहाल्छन्।
सात कक्षामा पढ्दा उनले मानिसको नाकको चित्र बनाएका थिए। यो उनले ध्यान दिएर बनाएको पहिलो चित्र थियो। स्वास्थ्य शिक्षाको किताबबाट हेर्दै नाक बनाएका थिए।
'पेन्सिलले बनाएको नाकको चित्र आफैंलाई निकै राम्रो लाग्यो। त्यसपछि किताबका अरू चित्रहरू पनि बनाउन थालेँ,' उनी भन्छन्, 'यसपछि त थोरै फुर्सद भयो कि पेन्सिलले चित्र कोर्न थालिहाल्थेँ।'
यज्ञेश्वर स्याङ्जाको बिर्घामा हुँदै बुबाको पसलका लागि चाहिने सामान लिन बुटवल आइरहन्थे। त्यति बेला बुटवलमा एचबी आर्ट, सागर आर्ट र आरके आर्ट पसल सञ्चालनमा थिए। उनी ती आर्ट पसलबाहिर बसेर पेन्सिलले कोरिएका चित्रमा रङ भरेको हेर्थे।
एक पटक उनले रङ र ब्रस किनेर लगे। पेन्सिलले चित्र बनाएर त्यसमा त्यसमा रङ भर्न थाले।
'बुबा चाहिँ अनेक चित्र बनाएर कागज सक्छ भन्दै गाली गर्नुहुन्थ्यो,' त्यो समय सम्झिँदै यज्ञेश्वरले भने, 'बुबाले गाली गरे पनि चित्र बनाउन छाडिनँ।'
गल्याङमा पसल सुरू गरेपछि उनले 'मनीषा आर्ट' नाममा चित्र बनाउने र साइन बोर्ड लेख्ने काम पनि गरे। साइनबोर्ड लेखेको पैसा लिन्थे तर चित्र बनाएर पैसा आउँछ भन्ने उनलाई थाहा थिएन। त्यसैले चित्र बनाए पनि यसको व्यवसाय गरेनन्।
स्याङ्जाबाट बुटवल सरेपछि उद्योग र व्यापारमा व्यस्त भए उनी। चित्र बनाउने काम ओझेलमा पर्यो।
कोरोना फैलिएर लकडाउन भएपछि भने बल्ल उनले आफ्नो चित्रकला सम्झे।
'कोभिडको समयमा घरबाहिर जान नमिल्ने भएपछि कोठामै बसेर चित्र कोर्दै दिन बिताउन थालेँ,' उनले भने, 'लकडाउनले चित्रकलाको सौखमा पुनर्ताजगी गरिदियो। धेरै चित्र बनाएर साथीभाइ र आफन्तलाई उपहार दिएँ। केही चित्र घर र उद्योगका कार्यालयमा सजाएको छु।'
उनले आफ्ना चित्रमा नेपालको प्राकृतिक सौन्दर्य र जातजातिका वेशभूषा समेट्ने गरेका छन्। राष्ट्रिय विभूतिहरू, नेता, साहित्यकार, देवीदेवता, चराचुरूंगीका पनि चित्र बनाउँछन्।
यज्ञेश्वर डिजाइनमा पनि सक्रिय छन्।
'आवास समूहका सबै उद्योगका संरचनाको डिजाइनर र इञ्जिनियर सबै म आफैं हुँ,' उनले भने।
तिलोत्तमाको शंकरनगर वनबाटिकामा आवास समूहले निर्माण गरिदिएको 'टिकटक जोन' यज्ञेश्वरले नै डिजाइन गरेका हुन्।