सुनको कोटा बढाउन व्यवसायीहले माग गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरूपमा सोमबार राजधानीमा एक कार्यक्रम गर्दै सुनको कोटा बढाउन माग गरेका हुन्।
अहिले सरकारले दैनिक १० किलो ग्राम कच्चा सुन ल्याउन दिएको छ। सो परिमाणको सुन तिनै संघका व्यवसायीहरूले थोरै मात्रामा प्राप्त गर्ने छन्।
मागअनुसारको सुन आयात नहुँदा माग धान्न मुस्किल परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए।
'अहिले बजारमा सुनको माग धेरै छ। हालको परिमाणले आम उपभोक्ताको माग पूरा गर्न कठिन भएको छ,' उनले भने।
उनका अनुसार बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनमा पनि झण्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुने गरेको छ।
बैंकबाट आउने सुन बाहेक विदेशबाट आउने नेपालीहरूले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर एक सय ग्राम सुनका गहना ल्याउने पाइने सुविधाले केही सहज भएको उनले बताए।
पछिल्लो समय यस प्रकारले ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीहरूलाई पक्रने, अनावश्यक दुःख दिने कार्य भएकाले सरकारले सहजीकरण गरिदिन आग्रह गरेका छन्।
सरकारले सुनका गरगहना नेपाल ल्याउँदा चेकजाँच गर्ने स्थान भन्सार नाकामा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।