सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रालिले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा एक समूहले आगजनी, तोडफोड गरेको छ।
करिब ६० जनाको समुहले फागुन १५ गते कर्मचारीमाथि पनि सांघातिक आक्रमण गरेको कम्पनीले जनाएको छ।
सीता हाइड्रोपावर कम्पनीले उक्त आपराधिक घटनाको घोर भत्र्सना गरेको जनाएको छ। उचित क्षतिपूर्ती लागि सम्बन्धित निकायको ध्यानार्षण पनि गराएको छ।
यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न कम्पनीले माग गरेको छ। घाईते भएका कर्मचारीहरूको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने ब्यवस्था गर्न समेत हामी सरकारसँग माग गरेको छ।
यो आयोजना २०७७ साल मंसीर ८ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माण भईरहेको छ। २०८१ साल असार १५ गते व्यापारीक उत्पादन गर्ने लक्ष्य छ। हालसम्म आयोजनाको २५ प्रतिशत काम सकिएको छ। आयोजना निर्माणमा करिब तीन सय दक्ष तथा अर्धदक्ष श्रमिकले रोजगारी पाएका छन्।
आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति भएको आयोजनाले बताएको छ। यो घटनामा इन्जिनियरसहित ७ जना घाइते भएका छन्। सो समूहले क्रसरमा आगजनी गर्नुका साथै ट्रिपर, स्काईभेटर समेत तोडफोड गरेको छ।
आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको पुर्नस्थापना गरी आयोजना सुरू गर्न कम्तीमा एक बर्ष लाग्ने र यसको कारणले उत्पादनको बर्ष कम्तीमा एक बर्ष धकेलिने अवस्थाको सिर्जना भएको गुनासो छ।