नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औं वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीहरू माझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि आग्रह गरेका छन्।
'हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि व्यवसायीहरू माझ गैर-जिम्मेवार भई जथाभावी बोल्नु हुँदैन,' उनले भने, 'पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्ने कुरा गर्नु हुँदैन। बैंकमा भएको निक्षेप पनि जनताकै हो। हामी व्यवसायीहरूले यस्तो गैर-जिम्मेवार कुरा बोल्नु हुँदैन।'
उनले नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए।
कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै ढकालले यसमा क्रमिक सुधार देखिन थालेको बताए।
'कोभिड महामारी र त्यसपछिका समयमा नेपालमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो। त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव सुरू भयो। बैंकको कर्जाको ब्याज दर बढ्न गयो,' उनले कार्यक्रममा भने, 'तर अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरू सकारात्मक हुन थालेका संकेत देखिएका छन्। त्यसैले म व्यवसायी साथीहरूलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु।'
कार्यक्रममा बोल्दै उनले हरेक व्यवसायमा चुनौति आइपर्न सक्ने हुँदा चुनौतिहरू सामना गर्दै अगाडि बढ्न व्यवसायीहरूलाई सुझाव दिए।
उनले बैंकको ब्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरूले राज्यका विभिन्न निकायमा पटक-पटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेका कारण वातावरण सहज बन्दै गएको बताए।
कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्रै बैंकको ब्याजदर परिवर्तन नहुने समेत बताए।
'धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैंकको सञ्चालकले ब्याजदर घटाइदिने हो भने ब्याजदर घट्न सक्छ भन्ने लागेको देखिन्छ। तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन,' यसबारे स्पष्ट पार्दै भने, 'ब्याज दर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरूको प्रभाव रहन्छ। त्यसै पनि निक्षेपको ब्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ।'