लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बसोबास भएकी शोभावती पाल सानैदेखि ढकिया बुन्थिन्। वनजंगल र खोला किनारमा पाइने कास र मुझको ढकिया थारु समुदायका महिलाहरूको परम्परागत पेसा हो।
परिवार र छिमेकका अग्रजहरूको सिको गर्दागर्दै शोभावतीले १० वर्षको उमेरमै ढकिया बुन्न सिकिन्। थारु समुदायमा विवाह उत्सव र पूजापाठमा ढकियाको प्रयोग अनिवार्य मानिन्छ। बिहेपछि छोरीहरू घर जाँदा ढकियामा विभिन्न कोसेली राखेर लैजाने परम्परा छ।
घरमा दाल, चिउरा, चामल, तरकारी, फलफूल जस्ता दैनिक उपभोगका वस्तु ढकियामा राख्ने गरिन्छ।
थारु समुदायको पहिचान बनेको ढकिया अन्य समुदायमा पनि प्रयोग हुन्छ। सजावटका लागि पनि राख्ने चलन छ। बनाउने चाहिँ थारु महिलाले नै हो।
ढकियामात्रै बनाइने कास र मुझबाट अचेल टोपी, फूलदानी, पेन होल्डर, ट्रे, हटकेस, डस्टविन जस्ता वस्तु पनि बनाउन थालेपछि परम्परागत सीप व्यवसायका रूपमा फस्टाएको छ।
आफ्नो जातीय परम्पराका लागि ढकिया बुन्ने शोभावती पनि व्यावसायिक बनेकी छन्।
उनले ढकिया बनाएर बेच्न थालेको २० वर्षभन्दा बढी भयो। उनी एक पटक थारु समुदायका महिलाहरूका लागि आयोजित ढकिया बुन्ने १५ दिनको तालिममा सहभागी पनि भइन्।
सानै उमेरमा ढकिया बुन्न थालेकी शोभावतीलाई व्यावसायिक बनाएको चाहिँ त्यही तालिमले हो। तालिमले उनलाई ठूल्ठूलो भन्दा पनि ससानो वस्तु बनाएर व्यवसाय गर्न सजिलो हुन्छ भन्ने ज्ञान दियो।
तालिमका क्रममा छातेटोपी र सारस बनाएकी थिइन्। यस बापत चार हजार रुपैयाँ पुरस्कार पनि पाइन्। त्यो पुरस्कारले उनको हौसला बढायो।
तालिम दिने संस्थाले व्यवसाय गर्न चाहने महिलालाई २० हजार रुपैयाँ ऋण उपलब्ध गराउने वचन दियो।
उनले ऋण पाइन्। त्यही २० हजार रुपैयाँले कास, मुझ र रङ किनेर ढकिया बुन्न सुरु गरिन्। उनीसँग तालिम लिने अरूले व्यवसाय गरेनन्।
‘ठूल्ठूलो वस्तु बनाउन सामान र समय पनि धेरै लाग्छ। पैसा पनि धेरै चाहिन्छ। सानो बनाउन सजिलो हुन्छ। बिक्री पनि धेरै हुन्छ,’ शोभावतीले भनिन्।
उनले ढकियासँगै अन्य वस्तु पनि बनाउन सुरु गरिन्। हाल आफ्नै घरमा ‘लुम्बिनी ढकिया मौनी उत्पादन केन्द्र’ नाममा व्यवसाय चलाएकी छन्।
उनका उत्पादन किन्न ग्राहकहरू घरमै पुग्छन्। धेरैले पहिले नै अर्डर गर्छन्।
भन्छिन्, ‘जसलाई चाहिएको छ पहिले नै अर्डर गरेर लिन आउनुहुन्छ। उत्पादन गर्न सके कतै जानु पर्दैन। घरबाटै सबै बिक्री हुन्छ।’
उनको व्यापार देशभित्रमात्रै सीमित छैन।
उनका अनुसार अमेरिका, अस्ट्रेलिया, ताइवान, म्यानमार लगायतका देशबाट अर्डर आउँछ। नेपालका काठमाडौं, पोखरा, चितवन र लुम्बिनीका ठूला होटल र रिसोर्टहरूबाट पनि अर्डर आउँछ।
‘धेरै अर्डर विदेशबाट आउँछ। होटलहरूमा डस्टविन, हटकेस, चकटी, टेबल म्याट, टी ट्रे र किस्तीको माग धेरै छ। विदेशबाट टोपी, पेन होल्डर, पूजादानी, सानो ढकियाको बढी माग आउँछ,’ उनले भनिन्।
उनलाई गाउँमा लिएको तालिमले पुगेन। काठमाडौं र पोखरा गएर थप तालिम लिइन्। अहिले गाउँका महिलाहरूलाई तालिम दिएर व्यवसायतिर अघि बढाउने काममा लागेकी छन्।
हाल महिलवारका कमला धवल, आरती धवल र पार्वती पालले पनि साँझबिहान फुर्सद निकालेर ढकिया बुन्न थालेका छन्। एकै पटक धेरै अर्डर आउँदा शोभावतीले उनीहरूलाई पनि बुन्न लगाउँछिन्। महिलाहरू उनकै घरमा जम्मा भएर अर्डरअनुसारको सामान बनाउँछन्।
पर्यटकहरू नेपाल आउने समयमा बढी माग आउने उनको भनाइ छ। खासगरी मंसिरदेखि फागुनसम्म कामले भ्याई नभ्याई हुन्छ। शोभावती बिक्रीको सिजन नभएको मौकामा धेरै सामान तयार गरेर राख्छिन्।
कास जंगल र खेतबारीको कान्लाबाट सजिलै संकलन गर्न सकिन्छ। सहज उपलव्ध भए पनि डढेलोका कारणले अभाव हुने गरेको उनको भनाइ छ।
‘कास त लुम्बिनी विकास कोषको एरियामै पाइन्छ तर काट्ने समयमा डढेलो लागेर नष्ट हुन्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ बाहिरबाट पनि किन्नु पर्छ। मुझ र रङ बाहिरबाटै किनेर ल्याउने हो।’
कास जस्तै मुझ पनि घाँस प्रजातिको बिरुवा हो। काटेर मुझ सुकाएपछि प्लास्टिक जत्तिकै बलियो हुन्छ। त्यसलाई मसिनो त्यान्द्रा बनाएर छुट्याइन्छ र विभिन्न रङमा पकाएर आकर्षक बनाइन्छ।
कासका ढकिया रंगीचंगी मुझले बुनेर आकर्षक बनाइन्छ।
कास र मुझ पर्याप्त पाउन सके सामग्र्री बिक्रीमा कुनै समस्या नहुने शोभावतीको अनुभव र विश्वास छ। हस्तकलाको महत्व बुझ्न नसक्दा श्रमअनुसारको मूल्य भने पाउन नसकेको उनको गुनासो छ।
भन्छिन्, ‘ठूलो खालको ढकिया बनाउन धेरै समय लाग्छ। तीनचार दिन लगाएर बुनेको ढकिया १२–१५ सयमा बेच्नु पर्छ। मिहिनेत अनुसारको मूल्य पाउन सकेको छैन।’
डस्टविन साइज अनुसार १२ सयदेखि १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
धेरै विक्री हुने पेन होल्डरको पाँच सय, हटकेस र टोपी एक–एक हजार, पूजादानी, किस्ती र सानो आकारका ढकिया प्रत्येकको आठ सय रुपैयाँसम्म मूल्य पर्छ।
मिहिनेत अनुसारको भाउ पाउन नसके पनि घरको काम भ्याएर, घरमै बसेर काम गर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनले बताइन्। उनले यस वर्ष मंसिरदेखि हालसम्ममा कम्तीमा एक लाख रुपैयाँको सामान बेचिन्।
गत मंसिर अन्तिम साता भैरहवामा चलेको व्यापार मेलामा मात्रै ६० हजार रुपैयाँको व्यापार भएको उनले बताइन्। हस्तकला उत्पादकलाई आयोजकले स्टल निःशुल्क उपलब्ध गराएको थियो।
शोभावतीका अनुसार घरको काममा मात्र सीमित आफू र अन्य थारु महिलाहरू ढकिया बुनेर व्यापार गर्न थालेपछि घरबाहिर निस्किन र कार्यक्रमहरूमा बोल्न सक्ने भएका छन्।
उनीहरू गाउँमा उद्यमी महिलाका रूपमा चिनिएका छन्।
‘परम्परागत कामलाई व्यावसायिक बनाएपछि महिलाहरूको आर्थिक अवस्था पनि राम्रो हुँदै गएको छ,’ शोभवती भन्छिन्, ‘पहिले चुरापोते किन्न पनि श्रीमानसँग हात थाप्नु पथ्र्यो। मेलामहोत्सव लाग्दा खुम्चिएर बस्नुपथ्र्यो। अहिले त घर खर्च चलाउन सक्ने भएका छौँ।’
परम्परागत सीप र पेसालाई व्यावसायिक बनाउन सके महिलाको आत्मनिर्भरता बढ्ने र आफ्ना लागि आफैँ कमाउनु पर्छ भन्ने भावना विकास हुने उनको अनुभव छ।
आफ्नो हस्तकला व्यवसायमा लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट भने अहिलेसम्म कुनै सहयोग नमिलेको शोभावतीको गुनासो छ।
यसो भए पनि उनी आफ्नो क्षमतामा विश्वस्त छिन्। अन्य महिलालाई पनि व्यावसायिक बनाएर सँगै अघि बढाउन तल्लीन छिन्।