नेपाल इन्टरमोडल यातायात विकास समितिले मालबाहक ट्रकलाई चोभार सुख्खा बन्दरगाहमा पार्किङ गराउन आग्रह गरेको छ।
सुक्खा बन्दरगाह परिसर भित्र रहेको आन्तरिक टर्मिनल सञ्चालन सम्बन्धमा शुक्रबार भएको छलफलमा मालबाहक ट्रकलाई सुख्खा बन्दरगाहमा पार्किङ गराउन आग्रह गरेको हो।
समितिले शुक्रबार सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।
काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष ई. तपेन्द्र बहादुर खड्काले प्रवेश गर्ने ढुवानीका साधनहरूलाई आगामी दिनहरूमा सडक किनारामा मालवाहक सवारी साधन पार्किङ तथा सामान लोड/अनलोड गर्न नदिने बताए।
त्यस्तै, उपत्यका ट्राफिक कार्यालयलका प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले बन्दरगाहको आन्तरिक टर्मिनल प्रयोग गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र उपत्यका ट्राफिक कार्यायलबाट आवश्यक सहयोग गरिनेमा प्रतिबद्धता जनाए।
छलफल कार्यक्रममा चोभार सुक्खा बन्दरगाहमा उपलब्ध सेवा, सुविधा एवं उक्त सेवा सुविधा उपयोग गरेबापत सेवाग्राहीले तिर्नुपर्ने सेवा शुल्क बारेमा पनि जानकारी गराइएको थियो।
साथै कार्यक्रममा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरूले उक्त आन्तरिक टर्मिनल प्रयोग विधि, सवारी साधनको पार्किङ व्यवस्थापन, श्रमिक व्यवस्थापन, मालसामानको बिमा आदी सम्बन्धमा जिज्ञासा राखेका थिए।
उक्त छलफल कार्यक्रममा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, काठमाडौं उपत्यका ट्राफिक कार्यालय, ललितपुर महानगर नगर प्रहरी प्रमुख, नेपाल फ्रेट फरवार्डर्स एशोसिएसन, दुवानी व्यवसायी महासंघ नेपाल, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।