दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको पनि भाउ बढेको छ। दूधजन्य पदार्थमा सात रूपैयाँदेखि दुई सय ५० रूपैयाँसम्म बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले आधा लिटरको प्याकेट दूधको ५० रूपैयाँ तिुर्नपर्छ। यसअघि उपभोक्ताले ४३ रूपैयाँ तिर्दै आएका थिए।
त्यस्तै, दूधको मूल्य वृद्धि हुनुअघि आधा लिटर दहीको मूल्य ६५ रूपैयाँ थियो। अब ग्राहकले आधा लिटर दहीको लागि ८० रूपैयाँ तिर्नुपर्छ।
पनिरको मूल्यमा पनि प्रतिकिलो एक सय ५० रूपैयाँले वृद्धि भएको छ। अहिले बजारमा पनिरको मूल्य प्रतिकिलो नौ सय ५० रूपैयाँ तोकिएको छ। यसअघि पनिर प्रतिकिलो ८ सय रूपैयाँमा बिक्री भइरहेको थियो।
दूधको नयाँ मूल्यअनुसार सबैभन्दा बढी नौनीको मूल्य प्रतिकेजी दुई सय रूपैयाँ बढेको छ। पहिले प्रतिकेजी नौ सय रूपैयाँमा पाइरहेको नौनीको लागि अब ग्राहकले ११ सय ५० रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै, घ्यूको मूल्य प्रतिकिलो ११ सय रूपैयाँबाट बढेर १३ सय रूपैयाँ पुगेको छ।
मूल्य वृद्धिबारे नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग कुराकानी गर्दा उत्पादन लागत हेरेर मूल्य बढाइएको उनले बताए।
दूधको मूल्यवृद्धि भएसँगै डिडिसीले दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ लगायत दूधजन्य पदार्थको मूल्य पनि बढाउने तयारी गरेको छ।
उत्पादन लागत हेरेर एक/दुई दिनभित्रै नयाँ मूल्य निकाल्ने डिडिसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जिव झाले जानकारी दिए।
उनले भने, 'मूल्य बढ्छ। हामी उत्पादन लागत हेरेर बढाउँछौं।'
सरकारी स्वामित्वको भएकाले निजीभन्दा डिडिसीको उत्पादन सस्तो हुने झाको भनाइ छ।
सरकारले किसानले पाउने दूधको मूल्य नौ रूपैयाँ वृद्धि गरेपछि उद्योगीले पनि उपभोक्ता मूल्य १४ रूपैयाँ बढाएका हुन्।
दूधजन्य पदार्थ | पुरानो मूल्य | नयाँ मूल्य |
स्ट्यान्डर्ड दूध (आधा लिटर) | रु.४३ | रु.५० |
होल मिल्क (आधा लिटर) | रु.५५ | रु.६५ |
दही (आधा लिटर) | रु.६५ | रु.८० |
घ्यू (एक लिटर) | रु.१,१०० | रु.१,३०० |
नौनी (एक किलो) | रु.९०० | रु.१,१५० |
पनिर (एक किलो) | रु.८०० | रु.९५० |