उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद हर्भसले चोभार सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन्। उनीहरूले बुधबार चोभार सुख्खा बन्दरगाहको निरीक्षण गरेका हुन्।
उक्त निरीक्षण कार्यक्रममा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह भित्र रहेका एक्जिम र आन्तरिक दुवै टर्मिनलहरू सञ्चालनको लागि सरोकारवाला निकायहरूसँग पटक-पटक छलफल तथा अन्तर्क्रिया भएको जानकारी गराए।
बन्दरगाहको एक्जिम टर्मिनलमा भन्सार जाँचपासको लागि दैनिक २ देखि ३ वटा मालवाहक सवारी साधान आउने गरेको उनले बताए। यसबाहेक आयात-निर्यातकर्ताहरूले यहाँको गोदाम प्रयोग गर्ने गरेका छन्। त्यस्तै, आन्तरिक टर्मिनलमा उपाय कार्गो र सिल्क ट्रान्सपोर्टेसनले पार्किङ र गोदाम प्रयोग गरेको उनले जानकारी गराए।
उनले काठमाडौं आउने जोखिम कम भएका केही वस्तुहरू (जस्तै, जोखिम कम भएका सामानहरू कार, जीप, भ्यान, मोटरसाइकल, मोवाइल, फ्रिज, वासिङ मेशीन, टिभी, एयर कन्डिसन, ल्यापटप आदि)लाई केही समयको लागि चोभार सुक्खा बन्दरगाहमा जाँचपास गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
वाणिज्य तथा आपूर्ति सचिव मरासिनीले सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि निकायगत रूपमा गर्नुपर्ने कार्यहरूका लागि मन्त्रालयबाट आवश्यक पहल एवं समन्वय हुने जानकारी गराए।
उक्त निरीक्षण कार्यक्रममा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव श्रीधर गौतम लगायत कर्मचारीहरूको उपस्थिति थियो।