जापानमा ‘लाला’ भनेर चिनिने यमलाल सापकोटाले नवलपुरको गैंडाकोटमा ११ करोड रुपैयाँ लगानी गरेर होटल ताज महल एभरेष्ट सञ्चालनमा ल्याएका छन्।
गैंडाकोट नगरपालिका वडा नम्बर २ शिलान्यास चोक नजिकै उनले होटल सुरू गरेका हुन्। यहाँ पहिले मुनस्टार होटल थियो। भएको संरचनामा थप २ करोड लगानी गरेर सुविधा सम्पन्न बनाउने उनको योजना छ।
साथै ट्राभल एजेन्सी सञ्चालन गरेर विदेशी पर्यटक भित्र्याउने, होटल ताज महल एभरेष्टलाई देशका ठूला सहरमा विस्तार गर्ने उनको लक्ष्य छ।
बागलुङमा विपन्न परिवारमा जन्मिएका यमलाल सापकोटाले चितवनको नारायणगढ फुटपाथबाट व्यापार थालेका थिए। भारतमा १२ वर्ष संघर्ष गरेपछि उनले जापानमा १९ वर्ष व्यवसाय गरिसकेका छन्।
१५ वर्षको उमेरमा काम खोज्दै नारायणगढ आइपुगेपछि यमलालले सुरूमा रिक्सा चलाउन सिकेका थिए। लडेर खुट्टामा चोट लागेपछि उनलाई अर्को कामको खाँचो पर्यो, तर पाएनन्। उनले फुटपाथमा बसेर साग, निउरो बेच्न थाले।
एक दिन नारायणगढमा व्यापार गर्ने एक भारतीय व्यापारीले उनलाई रोजगारीका लागि भारत जान प्रस्ताव गरे। उनी खुसी भएर ती व्यापारीसँग बिहारको मुजफ्फरपुर गए। त्यहाँको एउटा कोठीमा भाँडा माझ्ने काम मिल्यो। भारत गएपछि मनग्य कमाइ हुने सपना उनले देखेका थिए। भाँडा माझेर त्यो सपना पूरा हुने सम्भावना थिएन। त्योभन्दा राम्रो काम खोज्दा उनको पढाइ पुगेन।
बागलुङको गल्कोटमा कक्षा ५ मा पढ्दै गर्दा छाडेर नारायणगढ आइपुगेका थिए यमलाल। गतिलो काम नपाएपछि बल्ल उनलाई पढाइको आवश्यकता खड्कियो। करिब एक वर्षपछि उनी बागलुङ फर्किएर फेरि विद्यालयमा भर्ना भए।
परिवारको कमजोर आर्थिक अवस्थाले उनलाई धेरै समय गाउँमा बस्न दिएन। सँगै पढ्ने दुई जना साथीलाई पनि लिएर उनी विद्यालयबाटै भागे। यसपटक उनको लक्ष्य भारतको नयाँ दिल्ली पुग्नु थियो। आकाशदीप भन्ने ठाउँमा गाउँका एक जना मान्छे थिए। उनलाई भेटेपछि काम पाइने आशा उनीहरूको थियो।
‘त्यत्रो ठूलो सहरमा खोजेको मान्छे भेट्न गाह्रो थियो। त्यतिञ्जेलका लागि कहिले मोटरसाइकल पुछ्ने, कहिले शौचालय सफा गर्ने काम गर्यौं,’ यमलालले सुनाए। केही दिनमा उनीहरूको भेट ती आफन्तसँग भयो। यमलालले दिउँसो एउटा रेष्टुरेन्टमा काम पाए। बिहान र बेलुका साइकलमा राखेर केरा बिक्री गर्न थाले।
‘मैले काम गर्ने रेष्टुरेन्टमा हरेक बिहान एउटा सप्लायर्सले तरकारी ल्याउँथ्यो। मलाई लाग्यो, यो काम म आफैं किन नगर्ने? साहुसँग कुरा गरेर त्यो काम आफैं गर्न थालें,’ उनले भने, ‘विस्तारै अन्य रेष्टुरेन्ट र होटलहरूमा पनि तरकारी पुर्याउने काम पाएँ।’
उनले एउटा रिक्सा किनेर मण्डीबाट होटल, रेष्टुरेन्टसम्म तरकारी ओसार्ने काम गरे। केही महिनामा उनी तरकारीको सप्लायर्स नै बने। एउटा टेम्पो पनि किनेर सप्लायर्स कम्पनी नै खडा गरे।
तरकारी व्यवसायबाट राम्रो आम्दानी गरेपछि यमलालले दिल्ली युनिभर्सिटी नजिकै विजयनगर भन्ने ठाउँमा रेष्टुरेन्ट खोले। विस्तारै किराना पसल पनि चलाउन थाले। उनका तीन वटा व्यवसाय भए। मुखर्जी नगरमा घर किने। विवाह गरेर एक छोरा, दुई छोरी त्यहीँ जन्मिए। त्यो ठाउँका मान्छेहरू यमलाललाई ‘लाला’ भनेर बोलाउँथे।
त्यही रेष्टुरेन्ट यमलाललाई जापानमा व्यवसायी बनाउने माध्यम बन्यो। ‘मैले रेष्टुरेन्टमा काम गर्ने भाइलाई जापान पठाएँ। उनलाई जापानमा रेष्टुरेन्ट खोल्न आवश्यक पर्ने सामान दिल्लीबाटै पठाइदिएँ। पछि आफू पनि त्यही रेष्टुरेन्टको बिजनेस भिसा बनाएर जापान गएँ,’ उनले भने।
१९ वर्षअघि उनी जापान पुगेका थिए। सुरूआतका केही महिना उनले रेष्टुरेन्टभन्दा बाहिर काम गरे। करिब एक वर्षपछि जापानको ओशाकामा नयाँ रेष्टुरेन्ट खोले। त्यसलाई बिस्तार गर्दै उनले नमस्ते ताज महल, ताज महल एभरेष्ट रेष्टुरेन्ट सुरू गरे। यी दुई नामका रेष्टुरेन्टको चेन उनले जापानका विभिन्न सहरहरूमा फैलाउँदै गए।
सन् २०१५ तिर जापानका विभिन्न सहरमा गरेर उनका ५५ वटा रेष्टुरेन्ट सञ्चालन भएका थिए। तर कोभिड १९ ले उनको व्यवसायमा पनि असर गर्यो। कोभिडका कारण यमलालले ३३ वटा रेष्टुरेन्टहरू बेच्नुपर्यो। पछि थप केही रेष्टुरेन्ट बिक्री गरेर अहिले १३ वटा सञ्चालन गरिरहेका छन्।
‘सुरूबाट अहिलेसम्म मैले जापानमा १५५ वटा रेष्टुरेन्ट खोलें। धेरैजसो सहरमा रेष्टुरेन्ट चलाएँ। पछि नेपालीलाई बिक्री गरेँ,’ उनले भने, ‘अहिले बाँकी रहेका रेष्टुरेन्ट जेठो छोरा रोशनले चलाउँछ।’
जापानमा जन्मिएका कान्छो छोरा अहिले भरतपुरमा पढ्दैछन्। दुई छोरी जापानमै छन्। उनीहरू पनि त्यहाँ रेष्टुरेन्ट व्यवसाय गर्छन्। श्रीमती रूपा सापकोटाको पनि ओशाकामा निजी रेष्टुरेन्ट छ।
यमलालले जापानमा रेष्टुरेन्ट स्थापनाका लागि आवश्यक पर्ने सामानको रिसाइकल पसल र मनी ट्रान्सफरसहितको खाद्यान्न पसल पनि चलाइरहेका छन्।
यमलाल सापकोटा जापान नेपाली एकता समाजको संस्थापक अध्यक्ष हुन्। १३ वर्ष अध्यक्ष भएका उनले यो संस्थामार्फत् जापानमा रहेका नेपाली र नेपालमा भूकम्प प्रभावितलाई सहयोग गरेका छन्।
‘विद्यार्थी भिसामा जापान गएर काम नपाई अलपत्र परेका भाइ-बहिनीलाई काम खोजिदिने, त्यहाँ बिरामी भएकालाई सहयोग गर्ने, मृत्यु भएको अवस्थामा आवश्यक प्रक्रियाका लागि सहजीकरण गरिदिने काम गरेँ,’ उनले भने, ‘भूकम्पले क्षति पुर्याएको दोलखा, सिन्धुपाल्चोकमा पुगेर खाद्य सामग्री सहयोग गर्यौं।’
उनले जापानमा नेपाली ‘पञ्चे बाजा’ पनि भित्र्याए।
‘रेष्टुरेन्टमा काम गर्नेलाई बाजा बजाउने तालिम दिएँ। अहिले जापानमा नेपाली संस्थाहरूको कार्यक्रममा उनीहरूले पञ्चे बाजा बजाउँछन्,’ यमलालले भने, ‘यसले नेपाली संस्कृतिको प्रचार जापानमा भइरहेको छ। नेपाली युवाहरूले काम पनि पाइरहेका छन्।’
तीन दशक बढी समय अन्य देशमा बिताएका उनलाई बाँकी दिन आफ्नै देशमा बिताउने रहर छ।
‘शून्यबाट सुरू गरेर करोडौं रुपैयाँ कमाउन सकेँ। अन्य देशमा बसेर धेरै गरेँ। अब आफ्नै देशमा केही गर्न मन छ,’ यमलालले भने, ‘होटल, रेष्टुरेन्ट क्षेत्रमा अनुभव भएका कारण नेपालमा पनि यही क्षेत्रमा अघि बढ्न खोजेको छु। नेपालको पर्यटन व्यवसायलाई अघि बढाउन सकेको प्रयास गर्छु।’