हामी अधिकांशको घरको भान्छा महिलाहरूले धानेका छन्। तर ठूला होटल-रेस्टुरेन्टको भान्से भएर विभिन्न परिकार बनाउने जिम्मेवारी पुरूषलाई दिइन्छ। सेफ पेसामा महिलाको संख्या एकदमै कम छ। अझ उच्च तहको पद एक्जुकेटिभ सेफ त पाँच महिनाअघिसम्म कोही थिएन।
काठमाडौंको ठमेलमा सञ्चालित अमेरिकन बहुराष्ट्रिय चेन होटल 'रम्दा' मा महिला एक्जुकेटिभ सेफ छन्। चारतारे होटल रम्दाको भान्सामा सबभन्दा उच्च तहमा रहेर काम गर्ने एक्जुकेटिभ सेफ हुन् भोजकुमारी शाह।
उनलाई पहिलो महिला एक्जुकेटिभ सेफ मानिएको छ।
'यो क्षेत्र पुरूषको एकलौटि होइन तर महिलाको संख्या निकै कम छ। मैले पनि यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेँ। भित्रैदेखि इच्छा र अठोट भए गाह्रो छैन,' उनले भनिन्।
३५ वर्षीया भोजकुमारी रम्दामा रमाइरहे पनि सुरूदेखि नै उनको सपना होटल क्षेत्र थिएन। नर्सिङ क्षेत्र थियो। इटहरीमा जन्मिएकी हुन् उनी। परिवारले नर्सिङ अध्ययनका लागि झक्झक्याइरहेको थियो। उनको सोच पनि यही थियो।
'नर्सिङ सम्मानित पेसा भएकाले परिवारले यही पढ भनिरहनुभएको थियो। त्यतिखेर होटल क्षेत्र त मान्छेले राम्रो पनि भन्दैन थिए,' उनले सुनाइन्।
उनका दाजु काठमाडौंमा बसेर अध्ययन गरिरहेका थिए। दाजुले बहिनीलाई सुझाउँदै होटल म्यानेजमेन्ट विषय राम्रो भएको सुनाए। आफ्ना साथीहरू पनि यही विषय पढ्न भारत जान लागेको भने। त्यतिखेर नेपालमा होटल म्यानेजमेन्ट सम्बन्धी कलेज खासै थिएनन्।
भारतमा पढ्ने भनेपछि भोजकुमारी उत्साहित भइन्। दाजुले सुझाए पनि आमाबुवालाई भने होटल क्षेत्र चित्त बुझेन। उनीहरू मानेनन्। छिमेकीहरूले पनि होटल क्षेत्रमा छोरीमान्छेले काम गर्नु नराम्रो भन्दै नकारात्मक टिप्पणी गरे।
उनका बुवा इटहरीमै किराना पसल चलाउँथे। व्यवसाय राम्रै थियो। गाउँलेले त खिसी गर्दै फलानोकी छोरी होटलमा काम गर्न त्यत्रो खर्चेर पढ्न जाने रे भने।
'अरूले बुवालाई आएर यत्रो व्यवसायीको छोरीलाई होटलमा काम गर्न किन पठाउने भन्थे। यही कुराले बुवा धेरै समयसम्म रिसाउनुभयो,' उनले भनिन्।
सन् २००४ तिरको कुरा हो। जति नै अड्चन आए पनि, अरूको भनाइ खाए पनि भोजकुमारीले अड्डी छाडिनन्। आखिरमा होटल व्यवस्थापन पढ्न दार्जिलिङ गइन्।
स्कुले तहमा उनको पढाइ मध्यमस्तरको थियो। होटल व्यवस्थापन पढ्दा भने सधैं प्रथम हुन थालिन्। उनको परिवार नै अचम्ममा पर्यो।
'स्कुलमा म खास जान्ने विद्यार्थी थिइनँ। कलेजमा त म सबभन्दा अगाडि भएँ,' भोजकुमारीले भनिन्, 'ममा होटल क्षेत्रको सामान्य ज्ञान पनि थिएन। पारिवारिक पृष्ठभूमि पनि होइन। तर पनि यो क्षेत्रमा मेरो लगाव बढ्दै गयो। यसले परिवार पनि खुसी भयो।'
भोजकुमारीले भारकोत जयपुरबाट होटल व्यवस्थापनमा स्नातक (बिएचएम) सम्म पढिन्। कलेज शुल्क पनि धेरै थियो। स्नातक सक्न करिब नौ लाख रूपैयाँ जति खर्च लागेको उनी बताउँछिन्।
बिएचएम सकेपछि उनी गोवा गएर तालिम लिइन्। त्यहाँको द ललित होटलमा ६ महिनाको व्यावसायिक तालिम थियो। तालिम सकेर एक होटलमा सेफका रूपमा जागिर सुरू गरिन्।
'सेफ नै बन्छु भन्ने सपना त होइन। होटल व्यवस्थापन क्षेत्रमै अरू काम पनि गर्न सकिन्थ्यो। तर होटलमै पनि अरू पदमा सर, म्याडम भनिन्छ। सेफ त सबैलाई भनिँदैन। यो पेसाको बेग्लै मज्जा छ। म सेफ नै बन्छु भन्ने सोच बुझ्दै जाँदा आएको हो,' उनले भनिन्।
सेफ भएपछि घरमा आमाले पकाएको खानेकुरा मात्रै खाएकी उनले आफैं विभिन्न परिकार पकाइन्। तालिममा धेरै कुरा सिकेकाले धेरै असहज भएन। पहिलो पटक पकाएको परिकार अरूले मीठो भनिदिँदा उनको मन फुरूङ्ग भयो।
तर सेफ भएर जागिर खानुमा सन्तोकै सन्तोक थिएन। धेरै खर्च गरेर पढाइ सकिएको थियो। सुरूआती तलब २५ सय भारू मात्रै हुँदा आफ्नै खर्च चलाउन मुश्किल हुन्थ्यो।
अर्कातिर भारतमा भाषिक समस्या पनि भयो। उनलाई हिन्दी बोल्न र बुझ्न गाह्रो थियो। उनले काम गर्ने होटलमा सबैले अंग्रेजी भाषा जान्दैन थिए।
'काम राम्रो हुँदा प्रोत्साहन गर्ने र डगमगाउँदा झक्झक्याउने पनि कोही भएनन्। नयाँ मान्छेले सिके भने हाम्रो जागिर जान्छ जस्तो गर्थे। जहिले पछाडि पार्न खोज्ने,' उनले अनुभव सुनाइन्, 'सेफ र भान्साका कर्मचारी पुरुषहरू मात्रै हुँदा कतिपय सुन्नै नसकिने नराम्रा शब्दहरू पनि बोल्थे। कति कुरा नसुनेजस्तो गरेर पनि काम गरियो।'
काम गर्ने समय पनि लामो हुन्थ्यो। दैनिक १५ घन्टासम्म खट्नुपर्थ्यो। गाह्रो भयो भनेर घरमा आमालाई सुनाउँथिन् कहिलेकाहीँ। आमाले उनलाई हौसला दिन्थिन्।
चुनौतीका बाबजुद उनी यो क्षेत्रमा अडिइरहिन्। जयपुर, दिल्ली लगायत ठाउँमा सेफका रूपमा काम गरिन्। केही वर्ष सेफका रूपमा काम गरेपछि पदोन्नति भएर उनी शू-सेफ भइन्।
त्यस बेलासम्म उनको उनको पेसालाई परिवारसँगै छिमेकीहरूले पनि प्रशंसा गर्न थालिसकेका थिए। उनको गाउँका अरू छोरीहरूले पनि होटलसँग सम्बन्धी विषय पढ्न थाले। उनीहरूका आमाबुबाले पनि यो विषयबारे उनीसँग सोधीखोजी गरे। भोजकुमारीले होटल व्यवस्थापन विषय राम्रो हो भनेर बुझाउन थालिन्। त्यसपछि उनलाई झनै रमाइलो लाग्दै गयो।
'अहिले त होटल म्यानेजमेन्ट विषय निकै सम्मानित भइसक्यो,' उनी भन्छिन्, 'धेरै कलेजमा पढाइ हुन्छ। आमाबुबाले पनि आफ्ना छोरीहरूलाई खुसी भएर पढाउन थालेका छन्।'
भारतमा शू-सेफका रूपमा काम गरिरहेकै बेला उनले ओमानको एउटा होटलमा जागिर खुलेको जानकारी पाइन्। आवेदन दिइन्। सन् २०१६ मा उनी त्यहाँ सेफका रूपमा काम गर्न पुगिन्।
खाडी मुलुक ओमानमा काम गर्न असहज थिएन। तलब र सेवासुविधा राम्रो थियो। मासिक दुई लाख रूपैयाँ कमाइ हुन्थ्यो। ओमानमा उनले साढे तीन वर्ष काम गरिन्। सन् २०१९ मा कोभिड महामारी सुरू हुनुअघि उनी नेपाल फर्किएकी हुन्।
'सानै उमेरदेखि परिवारबाट बाहिर बसेँ। परदेशमा कति बस्छौ, नेपाल आऊ भन्नुभयो। यहाँ फर्किएको केही महिनामै कोरोना सुरू भयो,' उनले भनिन्।
कोभिडको लामो समय उनी घरै बसिन्। काम गरिरहने बानी परेकी भोजकुमारीलाई समय कटाउन निकै सास्ती भयो। दोस्रो लकडाउन सकिएपछि उनी फेरि गोवा गइन्। त्यहीँको एक होटलमा काम गरिन्। त्यसपछि मुम्बईनजिकै नागपुरमा काम थालेकी थिइन्। नेपालबाट 'रम्दा' होटलले एक्जुकेटिभ सेफका रूपमा जागिरको प्रस्ताव गरेपछि फर्किएको उनी बताउँछिन्।
'यहाँ अवसर आयो। भारत र ओमानको जस्तो तलब नभए पनि आफ्नै देशमा काम गर्न पाइने भएकाले म फर्किएँ। नेपालकै पहिलो महिला एक्जुकेटिभ सेफ भएँ,' भोजकुमारीले भनिन्।
घरिघरि त उनलाई उत्ति नै खट्दा पनि थोरै पारिश्रमिकमा काम गर्दा दिक्क लाग्छ। यहाँ काम गर्दा पनि परिवारसँग त फोनमै कुरा हुने हो। त्यो हिसाबले विदेश र नेपाल कसरी फरक भन्ने पनि प्रश्न उब्जिन्छ। तर फेरि आफ्नै देशमा केही गरौं भन्ने सोचेर टिकिरहेको उनी बताउँछिन्।
भारत र ओमानका तारेहोटलका भान्सा सम्हालिसकेकी उनको सपना नेपालका अरू थुप्रै पाँचतारे होटलको भान्सा सम्हाल्ने छ।
'मेहनत गर्नेलाई अवसर आउला नि! अझै धेरै गर्नुछ। मजस्तै थुप्रै महिला दिदीबहिनीलाई यो स्थानसम्म ल्याउन प्रेरित गर्नुछ,' उनी भन्छिन्।
यो क्षेत्रमा सफलताका लागि कडा मेहनत गर्नुपर्ने उनी बताउँछिन्। उनका अनुसार एक्जुकेटिभ सेफ बन्ने सपना छ भने यहाँ पुग्न केके चाहिन्छ भन्ने थाहा पाउनुपर्छ। सोहीअनुसार मेहनत गर्नेलाई गाह्रो छैन।
भोजकुमारीको सपना इटहरीमै एउटा रेस्टुरेन्ट खोल्ने पनि छ। होटल क्षेत्रमा छोरीमान्छेले काम गर्नु राम्रो होइन भन्ने समाजलाई यो काम राम्रो हो भनेर देखाउन मन भएको उनी बताउँछिन्।
'आजभोलि त होटल क्षेत्र पनि राम्रो रहेछ भन्ने उदाहरण मलाई नै लिएर दिनुहुन्छ। हाम्रो नाम राखी भनेर सबै खुसी हुनुहुन्छ,' उनले भनिन्।