वर्ल्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेशन इन्भेष्टमेन्ट (बिआएआई) र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफ आइआइ)बाट संयुक्त रूपमा एक अर्ब ९८ करोड लगानी प्राप्त गरेको छ।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टकर्ताबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब ८ करोड नेपाली रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६.१ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो। यो इन्टरनेट क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो लगानी रहेको कम्पनीको भनाइ छ।
सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपैयाँको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ।
वर्डलिंकका सात लाख ५० हजारभन्दा बढी ग्राहकहरू छन्। यो एक निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीमा दुई हजार पाँच सय कर्मचारीले रोजगारी पाएका छन्।
ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरूको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेमा कम्पनी सकारात्मक छ।