नेपालका करिब ८३ लाख मानिसहरू आफ्नै इलम गर्छन्। आज सार्वजनिक २०७८ सालको राष्ट्रिय जनगणनाले यस्तो देखाएको हो।
१० वर्ष वा सोभन्दा माथिका उमेरका एक करोड ४९ लाख ८३ हजार ३१० व्यक्तिले सर्वेक्षणभन्दा १२ महिना अघिको समयमा गरिआएको आर्थिक कामको आधारमा यस्तो नतिजा निस्किएको हो।
८२ लाख ८५ हजार मानिसहरूले आफ्नै इलम गर्ने गरेको देखिएको हो। यो आर्थिक रूपमा सक्रिय जनसंख्याको ५५.३ प्रतिशत हो।
अरूकोमा गएर जागिर खाने वा काम गर्ने जनसंख्या ४० लाख १५ हजार छन्। यो आर्थिक रुपमा सक्रिय जनसंख्याको २६.८ प्रतिशत छ। दुई लाख नौ हजारले भने अरूलाई रोजगारी नै दिएका छन्। यस्ता रोजगारदाताको १.४ प्रतिशत छन्।
परिवारलाई आर्थिक काममा सघाउनेको संख्या भने २१ लाख ७२ हजार ५७९ छन्। यो १४.५ प्रतिशत हो। ०.१ प्रतिशत जनसंख्याको आर्थिक काम भने खुलेको छ।
औद्योगिक क्षेत्रअनुसार आर्थिक काममा संलग्नमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा आबद्ध छन्। ५७.३ प्रतिशत मानिसहरू यी क्षेत्रमा आबद्ध छन्।
थोक एवं खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरुमा १२।५ प्रतिशत, निर्माणमा ८.१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरुमा ३.९ प्रतिशत, औद्योगिक उत्पादनमा ३.८ प्रतिशत जनसंख्या संलग्न छन्।
संस्थागत क्षेत्रअनुसार सबैभन्दा बढी घरायसी क्षेत्रमा काम गर्ने ६१.८ प्रतिशत, गैर वित्तीय संस्था ३२.७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय संस्था १.१ प्रतिशत नाफा नकमाउने संस्था ०.४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन्।
आर्थिक काम नगरेका व्यक्तिहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी छन्। ४६.९ प्रतिशतले विद्यार्थी भएका कारण आर्थिक काम नगरेको देखिन्छ। यस्तो निष्क्रियमध्ये २१.९ प्रतिशत घरधन्दामा सीमित छन्।
११ प्रतिशत वृद्धवृद्धा छन् भने पारिवारिक हेरचाह गर्ने ७.५ प्रतिशत छन्। अन्यमा ७.४ प्रतिशत छन्। अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सन/आयस्ता पाउने २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा गर्ने ०.३ प्रतिशत छन्।