बैंकको ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा प्रदेशभरबाट दाङमा आएका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले घोराहीमा प्रदर्शन गरेका हुन्।
घोराही सभागृहबाट सुरू भएको विरोध र्याली बालमन्दिर चोक, दामोदर चोक, बैंक रोड, निमहल रोड, मेनरोड, सहिदगेट रोड हुदै जिल्ला प्रशासन कार्यालय दाङमा पुगेको थियो। प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र बुझाइएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्माले दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापालाई ज्ञापन पत्र बुझाएका हुन्।
यही कात्तिक १ गते देखि लागू हुने गरी जारी गरिएको चालु पुँजी कर्जा मार्गदर्शन-२०७९ प्रति लुम्बिनी प्रदेशका सबै उद्योग वाणिज्य संघहरूको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ।
विगतमा तरलता पर्याप्त हुँदा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले चाहिनेभन्दा धेरै ऋण लिन प्रोत्साहन गरेको तर अहिले मन्दीको अवस्थामा सहयोग नगरिएको उद्योगी तथा व्यवसायीहरूको भनाइ छ।
ब्याजदर एकल अंकमा राख्ने सम्झौता भए पनि दोहोरो अंकमा पगेको भन्दै यो मार्गदर्शन खारेज गर्नुपर्ने उनीहरूको माग थियो। आर्थिक मन्दी सहज नहुँदासम्म पुरानै अवस्था कायम गरी उद्योग व्यवसाय सञ्चालनमा सहज बनाइदिन समेत उनीहरूको माग छ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थापाले सम्बन्धित निकायमा पठाइदिने बताइन्।
‘हामीले हाम्रो तर्फबाट हुने सहयोग गर्छौं,’ उनले भनिन्।
विरोध र्याली सभागृहबाट सुरू भएर बजार परिक्रमा गरी सभाहल पुगेर समापन भएको थियो।
प्रदेश स्तरीय उद्योग वाणिज्य संघहरूको भेलाले आन्दोलनको कार्यक्रम समेत तय गरेको छ। हस्ताक्षर, विरोध प्रदर्शन, घेराउदेखि केन्द्रमा गएर राष्ट्र बैंक घेराउ गर्ने लगायत कार्यक्रम गरिने बताइएको छ।