मस्तकलाले आफ्नो पोर्टफोलियोमा नयाँ उत्पादन थपेको छ।
कम्पनीले रोप्न मिल्ने पात्रो बनाएको हो। कम्पनीका सह-सञ्चालक निखिल अग्रवालका अनुसार यो पात्रो प्रयोग गरिसकेपछि रोप्न सकिन्छ।
'रोप्न मिल्ने पात्रो कपासको कपडाबाट तयार पारिएको हुन्छ। यसमा तुलसी, सयपत्री वा गोलभेडाको भीउ हालेर बनाइएको हुन्छ,' उनी भन्छन्, 'पात्रो प्रयोग गरिसकेपछि यसलाई माटोमा गाड्न मिल्छ। यसबाट बिरुवा उब्जिन्छ।'
सुन्दा अचम्म लागेपनि रोप्न मिल्ने पात्रोको परीक्षणपछि नै सार्वजनिक गरिएको उनी बताउँछन्। परीक्षणको लागि मात्रै मस्तकलाले एक वर्ष समय दिएको थियो। नेपालमा यस प्रकारको पात्रो भित्र्याउने मस्तकला पहिलो भएकोमा समेत उनले दाबी गरे।
पात्रोमा प्रयोग हुने कागज भारतबाट आयात गर्दैछन्। यसबाहेक प्रिन्टिङको काम र स्ट्यान्डको काम भने नेपालमै हुन्छ। भविष्यमा यस प्रकारको कागज नेपालमै पनि बनाउने योजनामा मस्तकला छ।
यस प्रकारको उत्पादनले वातावरणमा सकारात्मक प्रभाव पार्न र दिगोपनप्रति मानिसको प्रतिबद्धता जनाउनमा मद्दत गर्नेमा कम्पनी विश्वस्त छ। हाललाई उक्त रोप्न मिल्ने पात्रोको सुरुआती मूल्य चार सय रुपैयाँदेखि तोकिएको छ।