नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई टिमले पदाधिकारीका उम्मेदवार घोषणा गरेको छ।
हालमा एसोसियटमा उपाध्यक्ष रहेका संघाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको टिममा जिल्लानगर उपाध्यक्षमा व्यवसायी सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ छन्।
ज्योत्सनाको नाम यसअघि अन्जन श्रेष्ठका टिमबाट पनि एसोसियट उपाध्यक्षमा घोषणा गरिएको थियो। उनी दुबै टिमबाट साझा उम्मेदवार नभइ टिम परिवर्तन गरेर आफ्नो समूहमा आएको संघाई समूहले जनाएको छ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघाई औद्योगिक घरना त्रिवेणी ग्रुपबाट प्रतिनिधित्व गर्छन्। उनी वर्तमान कार्यसमितिमा चन्द्र ढकाल प्यानलबाट एसोसियट उपाध्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण वैद्य हालका कार्यसमिति सदस्य हुन भने वस्तुगत उपाध्यक्षका उम्मेदवार सकुन्तलाल हिराचन हालका कोषाध्यक्ष हुन्। उनी नेपाल निर्माण व्यवसायी महासंघको पूर्व अध्यक्षसमेत हुन्।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार संघाईले आफ्नो घोषणापत्रसमेत प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएका छन्। संगठनात्मक सुधार र समन्वय, कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका विषय आफ्नो घोषणा पत्र तथा प्रतिवद्धता पत्रमा समेटेका छन्।
यता वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले सोमबार आफ्नो टिम घोषणा गर्ने तयारी गरेको छ। उमेशलाल श्रेष्ठको टिममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसियट उपाध्यक्षमा भरत आचार्य देखिएका छन्। कुनै पनि टिमले अहिलेसम्म सदस्यसहितको पूर्ण टिम घोषणा गरेको छैन। आगामी २९ गते हुने निर्वाचनको लागि चैत २१ गतेसम्म उम्मेदवार दर्ता गर्नु तालिका महासंघले निकालेको छ।