नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
सो समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन्।
यही समूहबाट उम्मेदवारी घोषणा गरेका एसोसियट उपाध्यक्षमा उम्मेदवार भरतराज आचार्यले भने वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठको समूहसँग उम्मेदवारी दर्ता गराएका थिए। उनले साझा उम्मेदवार रहेको बताएका छन्।
उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगततर्फ उपाध्यक्ष लगायत १४ जना कार्यसमिति सदस्य पदका उम्मेदवारहरूले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएको छ।
उम्मेदवारी दर्तापछि आफ्नो समूहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरू उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए।
ललितपुरका व्यवसायी श्रेष्ठ परिवारमा पहिलो पुस्ताका व्यवसायी हुन्। उनको परिवार राजनीतिमा केन्द्रित रहे पनि उनी उद्योग व्यवसायमा रमाएका छन्। उनी कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्।
उमेशलालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्स कम्पनी चलाउँछन्।
उनले लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न भूमिकामा बसेर काम गरेका छन्।
उनी पशुपति मुरारकाको कार्यकालमा उद्योग समिति सभापति, भवानी राणाको कार्यकालमा वस्तुगत उपाध्यक्ष थिए भने शेखर गोल्छाको कार्यकालमा अन्जन श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए।