नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ गते हुने कार्यसमिति चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। महासंघ निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको सूची प्रकाशन गरेको छ।
वरिष्ठ उपाध्यक्ष एक जनाका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।
जिल्लानगर उपाध्यक्ष एक जनाका लागि तीन जना उम्मेदवार बनेका छन्। उनीहरू सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठ हुन्।
वस्तुगत उपाध्यक्ष एक जनाका लागि सकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन्।
एसोसिएट उपाध्यक्ष एक जनाका लागि दुई जनाको उम्मेदवारी परेको छ जसमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य छन्।
जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध भएका छन्। उनी चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्छन्।
सबै प्रदेशबाट एक/एक जना सदस्यको कोटा रहेकामा कोशी र कर्णाली प्रदेशमा ३/३ जनाले र मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ जनाले उम्मेदवारी दिएका छन्।
वस्तुगत संघको तर्फबाट १४ जना सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका छन्। वस्तुगततर्फ उमेशलाल श्रेष्ठको प्यानलबाट १४ जनाकै दर्ता भएको छ भने अन्जन र रामचन्द्र टिममा को-को छन् खुलाइएको छैन।
उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।
द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल-भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध भएका छन्।
यस्तो छ पदाधिकारीका उम्मेदवारको पृष्ठभूमि
वरिष्ठ उपाध्यक्ष
अन्जन श्रेष्ठ
अन्जन श्रेष्ठ पोखराबाट उदाएका व्यवसायी हुन्। उनी औद्योगिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक छन्। उनका बुवा गणेशबहादुर श्रेष्ठ लक्ष्मी ग्रुपको अध्यक्ष छन्।
परिवारले सञ्चालन गरेको मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसायिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ। अन्जनका अनुसार ४९ वर्षअघि तीन सय रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो।
मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार छ। सुजल फुड्स, सुजल प्लास्टिक, जय माँ लक्ष्मी ट्रेडिङ, लक्ष्मी कमर्सियल भेइकल्स, सिद्धि लक्ष्मी स्टिल लगायतका कम्पनी छन्।
लक्ष्मी ग्रुपले डेढ अर्ब रूपैयाँ लगानीमा नवलपरासीमा खाद्यान्न उद्योग, साढे दुई अर्ब रूपैयाँभन्दा धेरै लगानीमा बिलेट (डन्डी बनाउने कच्चा पदार्थ) उद्योग सञ्चालन गर्ने भनेर उद्योग विभागमा दर्ता पनि गराएको छ।
महासंघमा अहिले वस्तुगत उपाध्यक्ष रहेका उनी पछिल्लो २० वर्षदेखि महासंघको विभिन्न भूमिकामा छन्।
रामचन्द्र संघाई
रामचन्द्र संघाई त्रिवेणी ग्रुपका सदस्य हुन्। पारिवारिक व्यवसायमा उनी दोस्रो पुस्ताका व्यवसायी हुन्। यो ग्रुप रामचन्द्रका बुवा पुरुषोत्तमलाल संघाईको नेतृत्वमा छ। करिब पाँच दर्जन उद्योग व्यवसायमा यो ग्रुपको सक्रियता छ।
उत्पादनमूलक उद्योगतर्फ सिमेन्ट, ग्यास, जडीबुटी प्रशोधन उद्योग, चिया उद्योगमा लगानी छ। सगरमाथा, विश्वकर्मा, गोरखा सिमेन्ट उत्पादन गर्ने यो कम्पनीले हिमाल र नवज्योति ग्यास उद्योगमा लगानी गरेको छ। अमृत तेल, टोकला चिया पनि यसका उत्पादन हुन्। त्यस्तै लहर, एकता जस्ता लुगा धुने साबुन पनि त्रिवेणी ग्रुपले निकाल्ने गरेको छ। यसबाहेक डल्फिन मोड्युल्ड फर्निचर पनि यही समूहको हो।
प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक र महालक्ष्मी विकास बैंकमा यो ग्रुपको लगानी छ। ऊर्जा, शैक्षिक र कृषि क्षेत्रका साथै सिनेमा हल, मार्ट र अटोमोबाइल्समा पनि यो समूहले लगानी गरेको छ। यसबाहेक लोरियल, प्रान, सनफिस्ट, फुजिफिल्म, सान्सुई, पानासोनिक, हकिन्स, गार्नियर लगायत अन्तर्राष्ट्रिय ब्रान्डका सरसामानको बिक्रेता पनि हो।
रामचन्द्र सांघाई अघिल्लो निर्वाचनमा एसोसिएट उपाध्यक्षमा चन्द्र ढकालको प्यानलबाट विजयी भएका थिए। रोजगारदाता परिषदको अध्यक्ष भएर उनले आफ्नो भूमिका निर्वाह गरेका छन्। उनी महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको कार्यकालमा निर्यात प्रवर्द्धन समितिको उपसभापति भएर काम गरेका थिए।
उमेशलाल श्रेष्ठ
ललितपुरका व्यवसायी उमेशलाल श्रेष्ठ परिवारमा पहिलो पुस्ताका व्यवसायी हुन्। उनको परिवार राजनीतिमा केन्द्रित रहे पनि उनी उद्योग व्यवसायमा रमाएका छन्। उनी कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्।
उमेशलालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्स कम्पनी चलाउँछन्।
उनले लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न भूमिकामा बसेर काम गरेका छन्। उनी पशुपति मुरारकाको कार्यकालमा उद्योग समिति सभापति, भवानी राणाको कार्यकालमा वस्तुगत उपाध्यक्ष थिए भने शेखर गोल्छाको कार्यकालमा अन्जन श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए।
उनी आफू साना व्यवसायीको प्रतिनिधित्व गर्ने बताउँछन्।
जिल्लानगर उपाध्यक्ष
जिल्लानगर उपाध्यक्षमा उम्मेदवारी दिएका दिनेश श्रेष्ठ अहिले महासंघको राजनीतिमा देखिएका सबैभन्दा पुराना खेलाडी हुन्। उपाध्यक्ष पदमा मात्रै उनी चौथो कार्यकालका लागि प्रतिपस्पर्धा गर्दैछन्। सन् १९९७ देखि महासंघको विभिन्न भूमिकामा बसेर उनले काम गरेका छन्।
कागजजन्य शैक्षिक सामग्रीहरू उत्पादन गर्ने अशोका कार्बन एन्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, श्रेष्ठ इन्टरनेसनल टेड्रिङ कन्सर्न लगायतका कम्पनीमा उनी आबद्ध छन्।
जिल्लानगर उपाध्यक्षमा उठेका अर्का उम्मेदवार अरूणराज सुमार्गी पहिलो पुस्ताका व्यवसायी हुन्। उनी व्यवसायी अजेयराज सुमार्गीका भाइ हुन्। मुक्ति श्री कम्पनीका सञ्चालक उनी अहिले महासंघका कृषि समिति सभापति छन्। यसअघि उनी हेटौंडा उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए।
मुक्ति श्री ग्रुप सञ्चार, घरजग्गा, ऊर्जा तथा निर्माण क्षेत्रमा आबद्ध छ। यसले सञ्चालन गरेको हिमालयन स्प्रिङ वाटर पानी विदेशमा निर्यात भइरहेको छ।
त्यस्तै अर्का उम्मेदवार सुरकृष्ण वैद्यले रामचन्द्र संघाईको टिमबाट उम्मेदवारी दिएका छन्। उनी काभ्रेका व्यवसायी हुन्। स्थानीय स्तरमा व्यवसाय गर्ने उनी ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बच्छला एग्रिगेड, सुगम इन्टरप्राइजेज लगायत कम्पनीमा आबद्ध छन्।
नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका उनी कांग्रेस प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा थिए। उनी काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
एसोसिएट उपाध्यक्ष
एसोसिएट उपाध्यक्षका उम्मेदवार भरतराज आचार्यले प्लास्टिक, पाइप, कृषि उद्योगका साथै मेडिकल कलेजमा लगानी गरेका छन्। एक दशकदेखि महासंघमा विभिन्न तहमा आबद्ध भएर काम उनले काम गरेका छन्। हाल उद्योग समिति सभापति रहेका उनले यसअघि रोजगारदाता परिषदको सहसभापतिको जिम्मेवारी पाएका थिए। प्युठान घर भएका उनी पहिलो पुस्ताका व्यवसायी हुन्।
एसोसिएट उपाध्यक्षकी अर्की उम्मेदवार ज्योत्सना श्रेष्ठ ज्वेलरी (गरगहना) क्षेत्रको प्रतिनिधित्व गर्छिन्। मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा पर्यटन समिति सभापति छिन्। उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष पनि हुन्।
वस्तुगत उपाध्यक्ष
वस्तुगत उपाध्यक्षका उम्मेदवार सुकन्तलाल हिराचन निर्माण क्षेत्रमा आबद्ध व्यवसायी हुन्। उनी नेपाल निर्माण व्यवसायी महासंघको पूर्व अध्यक्षसमेत हुन्। अहिले उनी महासंघमा कोषाध्यक्ष छन्।
वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार हेमराज ढकाल छन्। हालका महासंघका कार्यसमिति सभापति ढकाल कार्पेट एसोसिएसन तथा चिया उत्पादक संघमा आबद्ध छन्। हेरिटेज कार्पेटका सञ्चालक उनी महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन्।
त्यस्तै अर्का उम्मेदवार मनिषलाल प्रधान टेक्सटाइल तथा रत्न तथा आभूषण क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। उनी महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा हुन्।