कोरोना भाइस संक्रमणले कुन व्यवसाय धराशायी पारेन र!
यस्तै मध्येको एक हो काठमाडौं डिल्लीबजारस्थित 'भोजनगृह'।
पर्यटन व्यवसायी भरत बस्नेतले २०५५ सालमा सुरू गरेको भोजनगृह कोभिड–१९ को मारमा परेर बन्द भयो। तीन वर्षपछि गत फागुनमा फेरि सञ्चालनमा आएको छ।
बाइस वर्षको उमेरमा पर्यटन क्षेत्रमा लागेका बस्नेत अहिले ६५ वर्षका भए। गुणस्तरीय पर्यटक भित्र्याउनु र नेपाली मौलिकता चिनाउनु उनको व्यावसायिक उद्देश्य हो।
'भोजनगृह करिब एक सय ५० वर्ष पुरानो भवनमा परम्परागत शैलीमा मौलिक परिकार पस्किनमा प्रसिद्ध छ,' बस्नेत भन्छन्, 'यो भवन भोजनगृहका विशेषताहरूमध्ये एक हो।'
अर्को विशेषता हो सबै कर्मचारीको नेपाली पहिरन। बस्नेत आफैं पनि सधैं दौरासुरुवाल र कोटमा हुन्छन्। नेपाली टोपी हुने भइगयो।
भोजनगृहमा धेरैजसो ग्राहक बेलुकीको खानाका लागि पुग्छन्। बिहान पनि खानाको सुविधा छ तर पाहुनाको आकर्षण बेलुकै छ। सामान्यतया साँझ ६ बजे ग्राहक आउन सुरू हुन्छ।
यहाँ हरेक परिकार काँसका भाँडाकुँडामा पस्किइन्छ। ग्राहक बस्न थालेपछि सबैभन्दा पहिला पानी आउँछ। यसलगत्तै आउँछ मकैभटमास र आलु। यसपछि सुरू हुन्छ विशेष सांस्कृतिक कार्यक्रम।
'मौलिक खानासँगै सांस्कृतिक प्रस्तुति भोजनगृहको खास विशेषता हो,' बस्नेत भन्छन्, 'सारंगी, बाँसुरी, मादल, हार्मोनियम जस्ता परम्परागत बाजाको धुनले माहोल रमणीय हुन्छ।'
अनि सुरू हुन्छ नेवारी, झ्याउरे, संगिनी, स्याब्रु, मारूनी, तामाङसेलो जस्ता सांस्कृतिक झलक दिने नृत्य। हरेक नाच सुरू हुनुअघि उद्घोषकले उक्त नाचको विशेषता जानकारी गराउँछन्।
नाचगान चल्दै गर्दा मःमःचा (मःमः) आउँछ, शाकाहारी र मांसाहारी दुवैका लागि। यसपछि आउँछ गेडागुडीको क्वाँटी। यी चार परिकार 'स्टार्टर' हुन्।
स्टार्टर पूरा भएको करिब १५ मिनेटपछि सुरू हुन्छ मुख्य खानाको सेवा।
खानामा भात, झानेको दाल, अचार, मौसमअनुसार दुई फरक तरकारी, कुखुरा र खसीको मासु अनि पनिर मुख्य परिकार हुन्। योसँगै मुला, गाँजर, काँक्रो, प्याज, कागतीको सलाद आउँछ। भक्तपुरे नेवारी समुदायमा बनेको चामलको ऐला (रक्सी) पनि दिइन्छ। डिजर्टका रूपमा दहीको सिकर्नी आउँछ। अन्तिम परिकारका रूपमा आउँछ मसला चिया।
खानाको निर्धारित प्याकेजबाहेक अलग परिकार पनि अर्डर गर्न सकिन्छ।
'स्टार्टरदेखि खाना र डिजर्ट हुँदै मसला चिया सकिँदा सामान्यतया साढे एकदेखि दुई घन्टा बित्छ। पाहुनालाई समय बितेको पत्तै हुँदैन,' बस्नेतले भने, 'खाना खाँदै गर्दा पनि नाचगान चलेकै हुन्छ।'
नेपाली ग्राहकले प्रतिव्यक्ति तीन हजार एक सय रूपैयाँ र विदेशीले तीन हजार नौ सय रूपैयाँमा भोजनगृहबाट यी सेवा पाउँछन्।
यो मूल्य महँगो भएन र?
यसबारे बस्नेत भन्छन्, 'झट्ट हेर्दा मेनुमा महँगो देखिन सक्छ तर सेवाअनुसार उचित छ। पाहुनाहरू खानासँगै नेपालको सांस्कृतिक नाचगानमा रमाउन पाउनुहुन्छ।'
बस्नेत हरेक दिन ग्राहकसँग गफ गर्छन्, प्रतिक्रिया र सुझावहरू लिन्छन्। साँझका ग्राहकको सत्कारमा सक्रिय हुन्छन्। बिहानी ग्राहकको सत्कार र अन्य व्यवस्थापन लगायतका काममा श्रीमती सुनिता हुन्छिन्। भोजनगृहको लेखाको जिम्मेवारी पनि उनकै हो।
यहाँ टेबल अग्रिम बुकिङ गर्न पाउने सुविधा छ। कहिलेकाहीँ टेबल नपुगेर फर्किनुपर्ने भएकाले पनि अग्रिम बुकिङ गर्न बस्नेत सुझाव दिन्छन्। उनका अनुसार पर्यटक भित्रिने मौसममा भोजनगृहमा ग्राहकको चहलपहल बाक्लो हुन्छ। बारम्बार गइरहनेहरू पनि धेरै छन्। ग्राहक भित्र्याउन उनी ट्राभल एजेन्सीहरूसँग समन्वय पनि गर्छन्।
भोजनगृहमा बस्नेत दम्पतीसँगै भान्सामा १० जना, सांस्कृतिक प्रदर्शनीतर्फ १७ जना र ग्राहक सत्कारमा १४ जना गरी ४१ जना कर्मचारी खटिन्छन्। कोभिड–१९ ले बन्द हुनुअघि ६१ जना थिए। कोरोनाअघि यहाँका अधिकांश ग्राहक विदेशी हुन्थे। अहिले नेपालीको संख्या उत्साहजनक छ।
'अहिले तुलनात्मक रूपमा नेपाली पाहुनाको संख्या बढेको छ। आफ्नो संस्कृति र परम्परा बिर्सिँदै गएको अहिलेको समयमा यहाँ आएर नेपालीहरूले आफ्नो मौलिकता थाहा पाउने अवसर पाउनुभएको छ।'
भोजनगृह सञ्चालन भइरहेको डेढ सय वर्ष पुरानो भवन आफैंमा मौलिक छ। बस्नेतका अनुसार यो भवन राणाकालको पनि पूर्वार्द्धतिरै बनेको अनुमान छ। राणाकालमा राजाका बडागुरुज्यूको निवास थियो। उनले २०५४ सालमा यो भवनबारे जानकारी पाएका हुन्।
त्यही साल उनको पूर्वतिरको थोरै भाग भाडामा लिए। यहाँको निर्माणशैली लगायत मौलिकतामा परिवर्तन नहुने तरिकाले संरचना बनाएर भोजनगृह सुरू गरे। संस्कृत शब्द 'भोजन' को अर्थ खाना र 'गृह' को अर्थ घर हुन्छ। नेपाली खानपिन र संस्कृतिको झलक दिने उद्देश्य भएकाले परम्परागत शैलीकै नाम रोजेको उनी बताउँछन्।
'अर्थ नबुझ्नेहरूले सोधखोज गर्छन्। पाहुनाहरूले नेपाली परम्परा र संस्कृतिबारे जानकारी पाउँछन्। यसबाट हामीलाई लाभ हुन्छ,' उनले भने।
थोरै ठाउँ लिएर सुरू गरेको भोजनगृह नौ वर्षपछि २०६४ सालमा पूरै भवनमा फैलियो। त्यसअघि त्यहाँ गार्मेन्ट उद्योग थियो।
'भोजनगृह विस्तार गर्ने बेलामा यो भवन भत्काउने कुरा चलेको थियो। तर सरकारी होऊन् कि निजी, पुराना शैलीका पुरातात्विक संरचना संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता छ। मैले नभत्काउन सहमत गराएँ,' उनले भने, 'यिनै संरचनाले हाम्रो संस्कृति र पहिचान झल्काउँछन्। हामीलाई चिनाउँछन्।'
पुरानो भवनमा व्यवसाय सञ्चालन गरेर आफूले पुरातात्विक संरचना संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि दिन खोजेको उनी बताउँछन्।
भवनमा राखिएका टेबलकुर्सी र दराजमा पनि मौलिकता झल्किन्छ। हस्तनिर्मित परम्परागत काष्ठकला अवलोकन गर्न पाइन्छ। यो भवनमा चारवटा हल छन्। हाल एउटा भने सञ्चालनमा छैन। भवन र यसको प्रांगणले करिब दुई रोपनी क्षेत्रफल चर्चेको छ। एकपटकमा दुई सय जनासम्मलाई सत्कार गर्न सक्ने भौतिक क्षमता भएको बस्नेतले बताए।
ग्राहकहरू एकै साथ सांस्कृतिक प्रस्तुतिमा सहभागी हुने भएकाले सबैलाई एकै साथ सेवा दिनुपर्छ। कोरोनापछि भर्खर मात्र सुरू भएकाले अहिले भने एकपटकमा बढीमा १०८ जनालाई सेवा दिँदैछ। आन्तरिक र बाह्य पर्यटक भित्रिने क्रम बढ्दै जाँदा सेवा बढाउँदै जाने उनको योजना छ।
बस्नेतको जन्मथलो खोटाङको चिसापानी हो। उनी २०२९ सालमा एसएलसी सकेर विराटनगर झरेका थिए। महेन्द्र मोरङ क्याम्पसबाट व्यवस्थापन संकायमा आइ.कम (कक्षा १२ सरह) पूरा गरेर काठमाडौं आए। शंकरदेव क्याम्पसमा बि.कम (स्नातक) पढेर उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भर्ना भए।
यो २०३६ सालको कुरा हो। त्यही समयमा उनले यती ट्राभल्समा काम सुरू गरे।
दुई वर्ष काम गरेपछि उनी चितवनको टाइगर टप्स जंगल लजसँग जोडिए। त्यहाँ करिब पाँच वर्ष काम गरे। २०४३ सालपछि उनी जर्मनी, अमेरिका लगायत देश पुगे। उताबाट फर्केपछि २०४५ सालमा उनले व्यावसायिक कम्पनी 'द एक्स्प्लोर नेपाल ग्रुप' सुरू गरे। उनी यसका अध्यक्ष हुन्।
'विभिन्न देश घुमेको अनुभव र जागिरे जीवनको शिक्षाबाट मैले यो कम्पनी सञ्चालन गरेको हुँ,' बस्नेत भन्छन्।
यसरी पर्यटन क्षेत्रसँग जोडिएका उनको खास रूचि नेपाली संस्कृति र सभ्यताको पर्यटकीय प्रवर्द्धनमा छ। उनी गुणस्तरीय पर्यटन र गुणस्तरीय पर्यटकमा विश्वास राख्छन्। र यस्ता धेरै पर्यटक हाम्रा सम्पदा, संस्कृति र परम्परा हेर्न आउने भएकाले संरक्षणमा उनले विशेष जोड दिएका हुन्। गुणस्तरीय पर्यटक भित्र्याउन र उनीहरूलाई सेवा दिन लागिपरेको उनी बताउँछन्।
भोजनगृहलाई नेपाली मौलिकताको नमूना रेस्टुरेन्टका रूपमा चिनाउने सपना देखेका उनी भन्छन्, 'मौलिकपन जोगाउँदै व्यवसाय गर्दा सम्पदाको पनि संरक्षण हुन्छ। नयाँ व्यवसायीहरूले यसमा ध्यान दिनुपर्छ। मौलिक शैलीमा व्यवस्थित सहर निर्माण गर्ने जिम्मेवारी सबैको हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी