सुकुटे बीच एड्भेञ्चर रिसोर्टको चेन रिसोर्टका रूपमा नारायणी बीच एड्भेञ्चर सञ्चालनमा आएको छ।
सिन्धुपाल्चोकमा रहेको सुकुटे बीच एड्भेञ्चर रिसोर्टका सञ्चालक महेन्द्र सिंह थापाले नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। यसअघि उनले मनकामना नजिकै त्रिशूली नदीको किनारमा 'गोरखा बीच एडभेञ्चर रिसोर्ट' सञ्चालनमा ल्याइसकेका छन्।
थापाले चितवन राष्ट्रिय निकुञ्ज, देवघाट र लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरेर साहसिक पर्यटनमा आधारित रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी दिए।
‘हामीले विशेषतः पानीमा हुने गतिविधिलाई प्राथमिकतामा राखेर एड्भेञ्चर टुरिजममा काम गरिरहेका छौं। सुकुटेमा भोटेकोशी, गोरखामा त्रिशूलीपछि गैंडाकोटमा नारायणी नदीको उपयोग गरेर पर्यटकलाई मनोरञ्जन दिने प्रयासमा हामी छौं,’ थापाले भने।
भोटेकोशी र त्रिशूली राफ्टिङका लागि चर्चित छ। गैंडाकोटमा चितवन राष्ट्रिय निकुञ्जसँग सम्बन्धित वाइल्डलाइफ पर्यटन र देवघाट, लुम्बिनी जस्ता क्षेत्रसँग सम्बन्धित धार्मिक पर्यटनलाई लक्षित गरेको उनले बताए।
पर्यटकलाई नारायणी नदीमा मोटरबोट र जेट स्की(दुई जनामात्रै चढ्न मिल्ने मोटरबोट) चढाएर देवघाट पुर्याउने यो रिसोर्टको योजना छ।
राति आएर बास बसेपछि बिहानै डुंगामा देवघाट जाने, दर्शन गरेर ब्रेकफास्ट गर्न रिसोर्टमै आइपुग्नेगरी प्याकेज बनाइएको छ। जंगल सफारीमा जान चाहने पर्यटकलाई पनि नदीसँग सम्बन्धित गतिविधिमा सहभागी गराउनेगरी योजना बनाएको थापाले बताए। उनले आउँदो नोभेम्बरसम्ममा करिब ५० जना अट्ने क्रुससिप सञ्चालन गर्ने बताए। अहिले यो रिसोर्टका तीनवटा मोटरबोट र एउटा जेट स्की छन्।
थापा काठमाडौंमा ट्रेकिङ एजेन्सी पनि चलाउँछन्। यसमार्फत् चितवन निकुञ्ज आउन चाहने पर्यटकहरू अब नारायणी बीच एडभेञ्चरमा आइपुग्ने उनले बताए।
गैंडाकोटमा रिसोर्ट सञ्चालनका लागि अहिलेसम्म १४ करोड रूपैयाँ खर्च भइसकेको थापाले बताए।
लगानी २० करोडसम्म पुर्याउने योजना उनले सुनाए। यहाँ अहिले २१ वटा कोठा र स्वीमिङ पुल छ। उनले यहाँ साढे २ वर्षअघि लगानी गरेर निर्माण सुरू गरेका थिए।
थापाले सञ्चालन गरेको सुकुटे बीच एडभेञ्चरमा ४० करोड, गोरखा एड्भेञ्चरमा १५ करोड रूपैयाँ लगानी भएको छ।
सोलुखुम्बुमा जन्मिएका थापा ट्रेकिङ एशोसिएसन र राफ्टिङ एशोसिएसनको पूर्वअध्यक्ष हुन्।
उनले सन् १९८२ देखि १९८५ सम्म चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा काम गरेका थिए। पछि उनी ट्रेकिङ र राफ्टिङ क्षेत्रमा सक्रिय भए। थापाले अमेरिका, युरोप, पाकिस्तानमा पनि राफ्टिङ गरेका छन्।
‘विभिन्न देशमा राफ्टिङको अनुभव संगालें। त्यतिखेर मैले नदी लक्षित पर्यटकीय गतिविधि, नदी किनारमा चलाइएका बीच रिसोर्टहरू देख्ने मौका पाएँ,’ थापाले भने, ‘अन्य देशमा सफल भएको देखेपछि मैले नेपालमै पहिलो पटक बीच रिसोर्ट खोलेको हुँ।’
उनले २५ वर्षअघि सुकुटेमा खोलेको सुकुटे एडभेञ्चर बीच रिसोर्टमा बस्न अहिले एक महिना अघि नै बुकिङ गर्नुपर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू पनि बेला–बेलामा यहाँ पुग्ने गरेका छन्।
‘बीच एड्भेञ्चरपछि बल्ल होटल सुरू गरेको हो। तर मैले चलाउने रिसोर्ट लक्जरी हुँदैनन्। साहसिक पर्यटनमा आधारित हुन्छन्,’ थापाले भने।
कोरोना महामारीको बेलामा शून्य अवस्थामा पुगेको पर्यटन व्यवसाय बिस्तारै उठेको थापा बताउँछन्।
‘हामी यो व्यवसायमा नो रिक्स नो गेन भन्छौं। फेरि पनि कोरोना महामारीको जस्तो अवस्था आउँछ कि भनेर चिन्तित त बनाउँछ। तर मलाई काममा विश्वास छ,’ उनले भने, ‘नेपालमा वाटर टुरिजममा राम्रो भविष्य छ। यसमा युवाहरूको आकर्षण दिनप्रतिदिन बढिरहेको छ। त्यसैले लगानी बढाइरहेको छु।’