ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण गत शुक्रबार राति वरपरका घरहरू भासिए। स्थानीय बासिन्दाको भागाभाग भयो । दुइटा घर पूर्ण रूपमा भत्किए। छवटा घर क्षतिग्रस्त भए। त्यहाँका स्थानीय बासिन्दा अहिले पनि त्रसित छन्।
सोह्रतले यो संरचना 'द समिट होटल एन्ड रेसिडेन्सेस्' नाममा बन्न लागेको हो। यो परियोजनामा १३० कोठाको पाँचतारे होटलका साथै १६० युनिट (फ्ल्याट) अपार्टमेन्ट पनि रहने व्यवस्थापनले जनाएको छ।
६ अर्ब रूपैयाँभन्दा धेरै लगानीमा यति ठूलो संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र नक्सा पास गरिएको छैन।
मध्य सहरमा बन्न लागेको यति ठूलो लागतको, यति ठूलो संरचना समिट होटलले कसरी नक्सा र इआइए पास नगरी गैरकानुनी रूपमा निर्माण सुरू गर्यो भन्ने प्रश्न उठेको छ। तर यो प्रश्नको उत्तर दिनबाट निर्माणाधीन समिट होटलको व्यवस्थापन र साझेदारहरू तर्किएका छन्।
यो परियोजनामा तीनवटा व्यावसायिक घराना साझेदार छन्। यसमा सबैभन्दा धेरै ४० प्रतिशत सेयर अमृतराज शाक्यको छ। उनी समिट होटलका पुराना सञ्चालक हुन्। त्यसपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका विनोद चौधरीले नेतृत्व गरेको सिजी ग्रुपको ३० प्रतिशत र पूर्वमन्त्री तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ नेतृत्वको एनई समूहको ३० प्रतिशत सेयर छ।
पहिले होटल समिट अमृतराज शाक्यले नै सञ्चालन गरेका थिए। ठूलो अपार्टमेन्टसहितको पाँचतारे होटल चलाउन समिटको ६० प्रतिशत सेयर चौधरी समूह र एनई समूहले किनेका थिए। देशकै प्रतिष्ठित घरानाहरू संलग्न यो परियोजनामा न्यूनतन नियम र कानुन पालना किन गरिएन भनेर हामीले प्रश्न गर्दा समिट होटलका तर्फबाट कसैले पनि जवाफ दिन चाहेनन्।
समिट होटल प्रालिका अध्यक्ष रविभक्त श्रेष्ठ हुन् भने आयोजना निर्देशक संचित श्रेष्ठ हुन्। हामीले दुवैलाई फोन सम्पर्क गर्दा उनीहरूले कुरा गर्न चाहेनन्। हामीले पठाएका म्यासेजको जवाफ पनि फर्काएनन्।
यति ठूलो परियोजना सुरू गर्नुअघि नक्सापास र इआइए किन गरिएन र अब उक्त प्रक्रिया कसरी पूरा हुन्छ भनेर सोध्न सोमबार तारन्तार सम्पर्क गरेका थियौं।
चौधरी समूहले पनि यसबारे बोल्न चाहेन। बरू सोमबार विज्ञप्ति जारी गर्दै होटल समिटको परियोजनामा सिजी डेभलपर्स साझेदार मात्रै भएको बताएको छ।
समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'होटल समिट प्रा.लि.ले विकास गरिरहेको परियोजनामा सिजी एक तिहाइभन्दा कम सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको स्पष्ट पार्न चाहन्छौं।'
समिट होटलका तर्फबाट पनि सोमबार एउटा विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा मुख्य प्रश्नहरूको जवाफ समेटिएको छैन।
आयोजना निर्देशक श्रेष्ठका नाममा जारी विज्ञप्तिमा भनिएको छ, 'जनप्रतिनिधिको रोहवरमा स्थानीयसँग भएको सहमतिअनुसार आगामी काम गरिने छ।'
नक्सा पासको विषय उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा भनिएको छ। वातावरणीय प्रभाव मूल्यांकनको प्रगति प्रतिवेदन पनि ललितपुर महानगरपालिकालाई पेस गरिने उल्लेख छ।
विज्ञप्तिमा उल्लिखित यी विवरणबाट समिट होटलले नक्सापास र इआइएको प्रक्रिया अघि बढाए पनि उक्त प्रक्रिया पूरा नहुँदै निर्माण काम सुरू गरेको प्रस्ट देखिन्छ। समिट होटलले कानुन मिचेर गरेको सुरू गरेको निर्माण प्रक्रिया अब कसरी अघि बढ्छ र के कारबाही हुन्छ भन्ने प्रश्न उठेको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको ललितपुर जिल्ला आयुक्त सफल श्रेष्ठले समिट होटल तथा अपार्टमेन्टले यस्ता कुनै पनि प्रक्रिया पूरा नहुँदै निर्माण कार्य सुरू गरेको बताएका छन्।
उनका अनुसार नक्सा पासका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति लिनुपर्नेछ भने सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागबाट भवन संहिता तथा राष्ट्रिय भवन मापदण्ड पूरा भए-नभएको परीक्षण गराएर अनुमति लिनुपर्नेछ। यति मात्र होइन, आवश्यक मापदण्ड परीक्षण गरेर नगरपालिकाले स्वीकृति नक्सा पास गर्नुपर्ने हुन्छ।
'समिट होटल तथा अपार्टमेन्टले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति लिने पहिलो काम नै गरेको छैन,' उनले भने।
समिटले उपत्यका विकास प्राधिकरणमा २०७८ फागुन १० गते योजना स्वीकृतिका लागि निवेदन दिएको जानकारी दिँदै श्रेष्ठले भने, 'निवेदन आएको थियो, कागजपत्र पूरा नभएका कारण केही समय लाग्यो। उहाँहरूले भने अनुमति नलिँदै काम अघि बढाइसक्नुभएको रहेछ।'
काम अघि बढाएको गुनासोपछि २०७९ असोजमा प्राधिकरणले काम रोक्न पत्रसमेत काटेको श्रेष्ठले बताएका छन्। अहिले कागजपत्र उपलब्ध भए पनि निर्णय हुन बाँकी रहेको र यसका लागि बोर्ड बैठक बसेर मात्रै निर्णय गरिने उनले जानकारी दिए।
वातावरणीय प्रभाव मूल्यांकनका हकमा समिट होटलले नै त्यससम्बन्धी प्रगति विवरणबारे ललितपुर महानगरलाई जानकारी गराउने भनेको छ।
समिटका अध्यक्ष रविभक्त श्रेष्ठ भने हामीले सोधेका प्रश्नको उत्तर दिन अनिच्छुक भए। उनले समिट होटलका कारण प्रभावित स्थानीयहरूसँग शनिबार कुराकानी गर्दै आफूबाट गल्ती भएको स्वीकार गरेका थिए।
'मबाट गल्ती भयो, म माफी नै माग्छु। त्यो प्रोजेक्ट मैले पन्छाउन खोजेको होइन। जसले हेरेको छ उसलाई बाहेक मलाई केही थाहा भएन, म अब हेर्छु,' उनले स्थानीयसँग भनेका छन्।
ललितपुर महानगरपालिकाले भने कानुन मिचेको समिट होटल तथा अपार्टमेन्टलाई हदैसम्मको कारबाही हुने बताएको छ।
'त्यहाँ होटल निर्माण गर्न नमिल्ने हो भने रोक लगाउने छौं,' महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सेतोपाटीसँग भनिन्।
उनका अनुसार छानबिन समितिको प्रतिवेदन आएपछि मात्र के कस्तो कारबाही गर्ने भनी प्रक्रिया अगाडि बढ्ने छ।
'छानबिन समितिको प्रतिवेदन आएपछि मात्र के गर्ने भन्ने हुन्छ। स्थानीय सञ्चालन ऐनअनुसार पाँच लाख रूपैयाँसम्मको क्षतिपूर्ति दिलाउन सक्ने प्रावधान छ,' उनले भनिन्, 'त्यसैले हामीले हिजो बैठक बसेर भवन निर्माणको काम रोकिदिएका छौं।'
प्रभावित व्यक्तिहरूको समस्या समाधान तथा सहजीकरणमा अगुवाइ गर्न ललितपुर महानगरका उपमेयरको संयोजत्कवमा अधिकारसम्पन्न सर्वपक्षीय समिति गठन गरिएको छ। समितिमा ललितपुर महानगरका प्रवक्ता, वडा नम्बर १ र २ का अध्यक्ष, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सदस्य छन्। त्यस्तै, होटल व्यवस्थापनका तर्फबाट संचित श्रेष्ठ र प्रभावित व्यक्तिका तर्फबाट रञ्जनध्वज विष्ट, रचन शाही र प्रविन आचार्य पनि सदस्य छन्। ललितपुर महानगरको पूर्वाधार निर्माण महाशाखा प्रमुखलाई सदस्य-सचिव तोकिएको छ।
'हाम्रो इञ्जिनियर तथा विज्ञसहितको छानबिन टोलीले त्यहाँ के भएको रहेछ भनेर अध्ययन गर्दै हुनुहुन्छ,' उपमेयर शाक्यले भनिन्।
महानगरको टोली एक्लैले मात्र घटनाबारे अध्ययन गरी कारबाही गर्न नसक्ने उनको जिकिर छ। नेपाल विपद् जोखिम न्यूनीकरणले पनि घटनास्थल अध्ययन गर्ने उनले बताइन्।
'विपद जोखिम न्यूनीकरणले निर्माणाधीन ठाउँको माटो परीक्षण गर्नेछ र वातावरणीय हिसाबले त्यहाँ उक्त संरचना बनाउन मिल्छ कि मिल्दैन भन्ने अध्ययन गर्नेछ,' उनले भनिन्, 'सम्बन्धित पक्षले पनि अध्ययन गर्नेछ।'
सबै अध्ययन भएर कार्यपालिका बैठकमा प्रतिवेदन पेस भएपछि त्यसैअनुसार होटल निर्माणमा रोक लगाउनुपरे महानगर पछि नहट्ने उनले बताइन्।
त्यहाँका प्रभावित व्यक्तिहरूलाई भने अहिले स्थानान्तरण गरिसकेको उनले जानकारी दिइन्। स्थानान्तरण, नयाँ बसोबास र क्षति पुगेका घरको पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्च समिट होटलले नै बेहोर्ने उनले बताइन्।
यसअघि आइतबार ललितपुर महानगरमा भएको बैठकले प्रभावितहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रूपैयाँको उद्धार कोष स्थापना गर्ने निर्णय गरेको थियो। कोषको रकम आवश्यकताअनुसार व्यवस्थापनबाट थप्दै जाने भनिएको छ।
यो पनिः
भासियो बन्दै गरेको समिट अपार्टमेन्ट वरपरका घरहरू (तस्बिरहरू)
समिट अपार्टमेन्टबाट प्रभावितको समस्या सम्बोधन गर्न सर्वपक्षीय समिति गठन