नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा 'फोनपे गर्ने हो! क्युआरमा उपहार जित्ने हो १' योजना ल्याएको छ।
चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपालभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले 'लक्की ड्र'मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन्।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने ‘फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप यो अभियान ल्याइएको हो।'
फोनपेमा हाल ११ लाखभन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका भने फोनपे नेटवर्कमार्फत् हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ।
फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तिय संस्था आबद्ध छन्।