उपत्यकामा राम्रो बजार पाएको नेपाल ग्यास उद्योग प्रालिले चितवन र नवलपरासीमा पनि बिक्री शुभारम्भ गरेको छ।
उपभोक्ताको मागअनुसार चितवन र नवलपरासीमा एकसाथ बिक्री शुभारम्भ गरेको नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिए। चितवनमा उन्नयन सप्लायर्स र नवलपरासीमा मध्यबिन्दु ट्रेडिङलाई आधिकारिक विक्रेता नियुक्त गरेर बजार विस्तार गरेको उनले बताए।
एक समारोहका बीच बिहीबार साँझ उद्योगका सञ्चालक गुणचन्द्र विष्टले औपचारिक बिक्री कार्यक्रमको शुभारम्भ गरेका हुन्। नेपाल ग्यासले गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर चिह्नसमेत पाएको सो अवसरमा जानकारी दिइएको थियो ।
नेपाल ग्यास एक्वायर गरेपछि सुरक्षित ग्याससँगै बजार विस्तार गर्न चाहिरहेको सो अवसरमा जानकारी दिइयो। काठमाडौँको बालाजु र बाराको सिमरामा ग्यास उद्योग रहेका छन् । अहिले बजारमा नेपाल ग्यासको मात्रै आठ लाख सिलिन्डर चलनचल्तीमा छन्।
सो अवसरमा नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले सुरक्षित, पूर्ण तौल र भरपर्दो ग्यासका कारण काठमाडौँमा पहिलो रोजाइमा परेको नेपाल ग्यास चितवन र नवलपरासीमा पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गरे।
नेपाल ग्यासको ८७ टनको क्षमता ११ गुणा वृद्धि गरेर हजार टन पुर्याउने कार्य अन्तिम चरणमा पुगेको सञ्चालक विष्टले बताए। उनले नेपाल ग्यास सेमी अटोमेसनबाट पूर्ण अटोमेसनमा लगेर दैनिक ३५ हजार सिलिन्डर भरेर बजारमा बिक्री गरेको पनि बताए। रासस