श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती घर परिवार चलाएर मात्रै बस्ने मान्यता विपरीत रामेछाप नगरपालिका, रामपुरका धेरै महिलाले आफैं स्वरोजगारको बाटो अंगाल्न सुरु रहेका छन् ।
श्रीमान्ले विदेशबाट पठाएको रकममा निर्भर हुनुको साटो परिवारका लागि आयस्रोतका विभिन्न पेसा आफैं गरी उनीहरु आत्मनिर्भर बन्न थालेका हुन्। यसबाट एकातर्फ परिवारको आयस्रोत र बचत बढाएको छ भने अर्कोतर्फ समयको सदुपयोग भएको छ ।
रामेछाप नगरपालिका ज्यामिरबोटकी गोमा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको क्रममा डेढ वर्षदेखि साउदी अरबमा होटलमा काम गर्छन्। उनले मासिक करिब ४० हजार कमाउँछन्। श्रीमान्को कमाइ राम्रै भए पनि गोमाले गाउँमै १० वटा बाख्रा पालेकी छन्।
सुरक्षित आप्रवास परियोजना(सामी)ले गत वर्ष सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएपछि उनलाई आफैं केही गर्नुपर्छ भन्ने भावना जाग्यो। श्रेष्ठले भनिन्, ‘तालिम लिनुअघि एक दुई वटा बाख्रा पालेको थिएँ, तर तालिमपछि अहिले १० वटा पुर्यायाएकी छु, एउटा दुहुनो भैँसी समेत पालेकी छु।’
श्रेष्ठको जेठी छोरी चार कक्षामा र कान्छो छोरा एक कक्षामा स्थानीय विद्यालयमा पढ्छन्। आफूले पढ्न नपाए पनि छोराछोरीले धेरै पढ्न सकून भन्ने उनको चाहना छ। उनले भनिन्, ‘अहिले आफ्नै कमाइले घरखर्च चलाउँछु, नपुगेको रकम मात्रै श्रीमान्ले पठाएकोबाट चलाउँछु। श्रीमान् स्वदेश फर्किए पनि घर खर्च चलाउन आफैं एक्लैले सक्छु भन्ने विश्वास जागेको छ।’
यसअघि श्रेष्ठका श्रीमान्ले युनाइटेड अबर अफ इमिरेट्स (युएई) मा चार वर्ष काम गरेका थिए। तर त्यसबेला कमाइ राम्रो भएन । श्रीमान्ले पठाएको खर्चमा मात्रै निर्भर हुँदा बचत हुन नसकेको पछुतो अहिले श्रेष्ठलाई लागेको छ।
उनले भनिन्, ‘अहिले दुवै जनाले कमाउन थालेपछि केही रकम बचत भएको छ, बचत गरेको रकमबाट भक्तपुरको झौखेलमा घडेरी किनेका छौँ। घडेरी किन्दा लागेको ऋण दुवै जना मिलेर तिरिरहेका छौं।’
रामेछाप, रामपुरकी इन्दिरा श्रेष्ठका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको साढे दुई वर्ष भयो। मलेसियामा ग्लोभ कम्पनीमा श्रीमान्ले मासिक ३० हजार कमाउनुहुन्छ । श्रीमान् विदेश गएपछि आफूले पनि केही गर्नुपर्छ भनेर एक वर्षअघि श्रेष्ठले घरमै १० हजार लगानी गरेर किराना पसल खोलिन्। अहिले त्यसमा दुई लाखभन्दा बढी लगानी भइसक्यो। अब पसल विस्तार गरेर होलसेल नै चलाउने उनको योजना छ। दैनिक करिब पाँच हजारको सामान बिक्री हुने गरेको श्रेष्ठले बताइन्।
‘किराना पसलसँगै साँझपख चटपटे र पानी पुरी बेच्ने व्यवस्था मिलाएकी छु,’ उनले भनिन्। पसलकै एउटा कुनामा सिलाइकटाइ गर्दै आए पनि मेसिन बिग्रिएकाले एक महिनादेखि त्यो काम रोकिएको छ । घरमा आफू र दुई साना छोरीमात्रै भएकाले उनीहरुलाई स्याहार्ने, विद्यालय पठाउनेदेखि घरको कामकाज आफैँ भ्याउनुपर्छ । उनका नौ वर्षीया छोरी चार कक्षामा तथा चार वर्षीया छोरी नर्सरीमा पढ्छन् ।
श्रेष्ठले किराना पसलमा पसलमा चुरोट, रक्सी, सुर्तिजस्ता वस्तु बेच्दिनन्। ती वस्तुमा बढी फाइदा हुने भए पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आफूले नबेच्ने प्रण गरेको उनको भनाइ छ । पहिला पैसा खर्च गर्ने बचत नगर्ने उनको बानी थियो । श्रेष्ठले भनिन्, ‘पहिले सय रुपैयाँ राखेर के हुन्छ भन्ने ठान्थेँ, अहिले त्यही सय रूपैयाँ जम्मा गर्दै गएर लाख पुग्ने रहेछ भन्ने थाहा पाएँ। बचत गरेरै रामेछापकै साँगुटारमा घडेरी किनेका छौँ।’
यस्तै रामेछाप झ्यासीङटारकी लक्ष्मी श्रेष्ठका श्रीमान् पनि पाँच वर्षदेखि रोजगारीका लागि युएईमा छन्। वित्तीय साक्षरताको तालिम लिएपछि श्रीमान्ले पठाएको विप्रेषणको कसरी सदुपयोग गर्ने भन्ने उनले जानकारी पाइन्।
उनले भनिन्, ‘मैले प्रत्येक दिनको पाँच रुपैयाँको पनि हिसाब लेखेर राख्ने गरेको छु । कति आयो कति गयो सबै दुरुस्त राखेकी छु । श्रीमान् आएर कुनै दिन पैसा खर्च कहाँ भयो भनेर सोध्नुभयो भने उहाले पठाएको एक/एक रुपैयाँको पनि हिसाब देखाउन मैले सक्छु।’
श्रेष्ठले पहिला गाउँमा पैसा ब्याजमा लगाए पनि त्यो उठाउन गाह्रो परेको अनुभव सुनाइन्। अहिले उनले स्थानीय सहकारीमा पैसा राख्न थालेकि छन्। कृषि पेसालाई थप विस्तार गर्ने योजनामा उनी छन्।
सामी परियोजनाका रामेछाप संयोजक भोजराज सुनुवारले जिल्लाका रामपुर, पकरवास, बेथान, हिमगंगा, नागदहमा वैदेशिक रोजगारीको विषयमा आफूहरुले करिब ३ सय जनालाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको बताइन्। विदेश जानुअघिको तयारी, लाग्ने खर्च, विदेशबाट प्राप्त हुने विपे्रषणको सदुपयोग, बचत वृद्धि, बचत परिचालन गरी स्थानीयस्तरमा उद्यमी बन्नेलगायत विषयमा तालिम दिएको उनले बताए।
विगतमा श्रीमान्ले कमाउँदा श्रीमतीले घरमै बस्ने र श्रीमान्ले पठाएको रकममा निर्भर हुने गरेका महिला अहिले आफैं आत्मनिर्भर बन्दा आत्मविश्वास पनि बढ्दै गएको बताउँछन् । रासस