चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छे गाउँमा नेपाली र दक्षिण कोरियाली जनताको संयुक्त लगानीमा सिमेन्टका विभिन्न किसिमका ब्लक तथा इँटा उत्पादन सुरु भएको छ ।
नेपालका सागर विष्ट र कोरियाली चोइ यु सुको करिब रु १० करोड लगानीमा ‘आधारशिला ब्रिक्स प्रालि’नामक कारखाना स्थापना गरी उक्त उत्पादन सुरु गरिएको हो । सांसदद्वय राजन केसी र विनोद श्रेष्ठ, दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामालगायतले आज उक्त कारखानाको उद्घाटन गरे।
सो अवसरमा सांसद केसीले समृद्ध नेपाल निर्माणका लागि संयुक्त लगानीका रुपमा स्थापना भएको ब्रिक्स कारखाना सहयोगसिद्ध हुनसक्ने बताउँदै भूकम्पपछिको पुनःनिर्माणका लागि यहाँबाट उत्पादन हुने इँटा तथा ब्लक बढी उपयोग हुने बताए । सांसद श्रेष्ठले कारखाना स्थापनाले समग्र देश विकासमा एउटा इँटा थपिने बताउँदै विदेश गएर रोजगारी खोज्नेहरुलेस्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्नसक्ने विश्वास व्यक्त गरे ।
पूर्वराजदूत लामाले कोरियाली प्रविधिबाट नेपाली वस्तुको प्रयोग गरी निर्माण हुने सिमेन्टका इँटा तथा ब्लक उत्पादनले नेपालकै समुच्च विकासमा योगदान पुग्ने विचार व्यक्त गरे। यहाँको वातावारणमा कुनै किसिमको असर नपर्ने, व्यापारिक भवन, निजी आवास, गोदाम, स्कुल, कलेज आदिका लागि उपयुक्त हुने, निर्माण सरल र छिटो हुने, माटोको विनाश र कृषियोग्य जमिनको दोहन नहुनेजस्ता सकारात्मक पक्ष रहेको कोरियाली लगानीकर्ता सुले जानकारी दिए।