निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन्।
नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको सिम्रिक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाले सेतोपाटीलाई जानकारी दिए।
नयाँ भाडादर अनुसार अब काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७ हजार २ सय रुपैयाँ थियो।
त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ। भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगंजको ९ हजार ५ सय थियो।
पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपर्दथ्यो भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ। यसअघि ४ हजार रुपैयाँ लिदैँ आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको थापाले बताए।
सबैभन्दा कम दुरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ मात्र घटेको छ। सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडा अनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ। भरतपुरको पुरानो भाडा ३५ सय थियो।
तुम्लिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ। माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको सिम्रिक एयरका मार्केटिङ प्रमुख थापाले बताए।