भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ ।
क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न परिकार उपलब्ध छन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बैंगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेका छन्। वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तर्क्रिया गर्दै उनले भारतका मुख्य शहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी दिए।
‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसकारण वाइवाइ सिटीको तीब्र विस्तार गर्न हामी दवावमा रहेका छौँ ।’
केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो । दिल्लीका उपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो ।
हालवाइवाइ सिटी भारतको नयाँ दिल्ली,नोयडा, पुने र बंगलोर गरि चार शहरमा विस्तार भईसकेको छ ।
वाइवाइ सिटी भारतका प्रमुख शहरहरुमा तीब्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए। ‘हामी सन् २०१७ मा एक सय वटा वाइवाइ सिटी स्थापनागर्ने हतारोमा छौँ’, चौधरीले भने, ‘भारतका सबै ठूला शहरहरुमा पहिलो चरणमा वाइवाइ सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो ।’
वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिन पाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जाने चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन्स जनरल म्यानेजर मधुसुधन पौडेलले बताए। नेपाली ब्राण्ड वाइवाइ अहिले भारतीय नूडल्स बजारमा तीब्र गतिमा फैलिइरहेको छ।