श्रम मन्त्री फरमुल्लाह मन्सुरले फ्रि भिसा र टिकट कार्यान्वयन नहुनुको पाटो सरकारले हेरिरहेको बताएका छन्। काठमाडौंमा आजबाट सुरु नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभाको उद्घाटन समारोहमा मन्त्री मन्सुर सरकारले गरेको लोकप्रिय निर्णय कार्यान्वयन किन नभएको भनेर मन्त्रालयले अध्ययन गरिरहेको बताए।
'फ्रि भिसा र टिकट कार्यान्वयन किन भएन, नहुनुको कारण के हो, कहाँ कठिनाइ भयो, कहाँ त्रुटि भएको यस विषय पहिचान गरेर कसरी सम्बोधन गर्न सकिन्छ, ' मन्त्री मन्सुरले भने।
'फ्रि भिसा र टिकटबाट कामदाहरुले कत्तिको लाभ पाइरहेका छन्' मन्त्री मन्सुरले प्रश्न गरे । मन्त्रालयले समस्या पहिचान गरेपछि निकास निकाल्न विज्ञहरु बसेर निर्णय गर्ने मन्त्री मन्सुरले बताए।
म्यानपावर व्यवसायमा सिण्डिकेट रहेको र आफू मन्त्री छउन्जेल कुनै पनि प्रकारको सिण्डिकेटले स्थान नपाउने उनले बताए।
'मलाई कसैले प्रभावित पार्न सक्दैन, म पर्दिन पनि' उनले भने, 'म पारदर्शी ढुंगले काम गर्छु, मुल्यांकन गर्ने जिम्मा जनताको हो।'
अहिले मलेसिया जाने कामदारमाथि स्वास्थ्य परीक्षणका नाममा सिण्डिकेट भइरहेको छ। संघका अध्यक्ष विमल ढकालले म्यानपावर ब्यवसायमा सिण्डिकेट रहेको भन्दै कामदाहरुमाथि चर्को आर्थिक शोषण भइरहेको बताए।
फ्रि भिसा र टिकटका कारण रोजगारी गुमेको भन्दै उनले समय सापेक्ष परिवर्तन गर्न उनले माग गरे। टेकबहादुर गुरुङ श्रम मन्त्री हुदाँ २०७२ साल जेठ २६ गतेबाट फ्रि भिसा र टिकटको निर्णय लागु भएको थियो।
मलेसियासहित खाडी मुलुकमा कामदार जादाँ बढीमा १० हजार मात्र तिर्नुपर्ने निर्णय भएपनि अहिलेसम्म त्यो कार्यान्वयनमा आएका छन्। म्यानपावर कम्पनीहरुले मोटो रकम लिएर कामदारलाई १० हजारको रसिद दिइरहेका छन्।
यस अघि पनि फ्रि भिसा र टिकट कार्यान्वयनमा आए नआएको विषयमा मन्त्रालयले सहसचिव गोबिन्दमणि भुर्तेलको संयोजकत्वमा अनुगमन समिति बनाइएपनि त्यो सक्रिय भएन।
संघको वार्षिक साधारणसभाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। संघले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि संघका अध्यक्ष विमल ढकाल र महासचिव रोहन गुरुङले उम्मेदवारी दिएका छन्।