घरेलु तथा साना उद्योग विकास समितिले बहुमूल्य धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङका लागि तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना गरेको छ ।
समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो । सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको हो भने धादिङ र डोटीमा गत वर्षमात्र प्रशोधन केन्द्र स्थापना भएको थियो ।
समितिले बहुमूल्य धातु बढी पाइने स्थानको पहिचान गरी उक्त क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विश्वमा पाइने ८०० धातुमध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् ।
समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्त रत्न, पत्थर धेरै पाइने स्थानको पहिचान गरी प्रशोधन केन्द्र स्थापना गरेको बताउछन्।
समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौँ युवालाई तालीमसमेत दिँदै आएको छ । समितिले प्रशोधन केन्द्र स्थापना भएपछि गत वर्षसम्म ७४९ जनालाई सीपमूलक तालीम प्रदान गरेको थियो ।
आव २०७३÷७४ मा कालीकोट, सुर्खेत, धादिङ र कालीकोट जिल्लामा १९१ जना युवालाई सीपमूलक तालीम प्रदान गरेको छ । समितिले सीप विकास तालीम तीन महिनासम्म दिने गर्छ ।
सुर्खेत, दैलेख, कालीकोट, लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् । रासस