मोरङ कटहरी–९ थलाहाकी रामा राजवंशीको परिचय अहिले फेरिएको छ । एक वर्षअघिसम्म सामान्य गृहिणीका रुपमा रहेकी उनी अहिले सफल व्यवसायी बनेकी छिन् ।
घर नजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले उनी राम्रो आम्दानी गरिरहेकी छिन् । करिब एक बिगाहा क्षेत्रफलको पोखरीमा उनले माछापालन व्यवसाय गरेकी छिन् ।
पोखरीबाट उत्पादित माछा नजिकैको बजारमा लगेर बिक्री गर्ने उनी आजभोलि घरमा पनि ग्राहक आउन थालेका बताउँछन् ।
शुरुमा पोखरीमा माछा हाल्ने पैसा पनि थिएन, पैसा नभएपछि व्यवसाय गर्ने सोच पनि बनाएकी थिएन्, उनी भन्छिन् – “गत वर्षको असारमा गरिबी निवारण कोषबाट सस्तो ब्याजदरमा २५ हजार ऋण लिएँ, त्यही रकमबाट पोखरीमा माछाको भुरा हालेँ र त्यसबाट एक लाख बढी आम्दानी गरें ।” मासिक एक रुपैयाँको ब्याजमा उनले सो ऋण पाएकी थिइन्।
विपन्न, दलित, पछाडि परेका महिला तथा समुदायका लागि गरिबी निवारण कोषले जिल्लामा सञ्चालन गरेको एकीकृत गरिबी निवारण कार्यक्रमबाट उनको आर्थिकस्तर उक्सिएको हो ।
माछा बिक्री गरेर प्राप्त रकमले उनले ऋण चुक्ता समेत गरिन् । आम्दानी बढ्दै गएपछि थप पोखरी निर्माण गर्ने र व्यवसाय बढाउँदै लैजाने सोच उनको छ ।
सोहि स्थानकी राधा मालाले अहिले तरकारीखेती गरेकी छन् । एक वर्षअघिसम्म राधाको अवस्था पनि रामाको जस्तै थियो । गरिबी निवारण कोषबाट पाएको ऋणले उनी तरकारीखेती शुरु गरिन् । अग्र्यानिक तरकारीखेती शुरु गरकी मालाले करेला, लौका, फर्सी र भिन्डीको खेती गरेकी छन्।
२५ हजार रुपैयाँबाट शुरु गरेकी तरकारीखेतीबाट एक लाख बढीको बिक्री भइसकेको छ । त्यस्तै भौँडाहा–५ की राधा रायले अहिले दैनिक ३ सय रुपैयाँ आम्दानी गर्ने गरेकी छिन् । कामविहीन भएर बसेकी उनले अहिले खुद्रा व्यापार शुरु गरेकी छिन् ।
विद्यालय खुलेका बेला विद्यालय र नभए साप्ताहिक हाटबजार र चोकमा उनले पकौडा, आलुचप, भुजा, ब्रेड चप बिक्री गर्ने गर्छिन् । त्यसबाट दैनिक ३ सय रूपैयाँ आम्दानी गर्न थालेपछि उनको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । उनले भनिन्– “पहिले घरमा त्यत्तिकै बसिन्थ्यो, तर काम गर्दा हुँदोरहेछ भन्ने भएको छ ।”
गरिबी निवारण कोषको सहयोगमा सामुदायिक विकास प्रयास नेपालले मोरङका छवटा गाविसमा अहिले एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । सिंहदेवी, वारंगी, थलाहा, भौँडाहा, कद्महा र दादरवैरियामा कार्यक्रम सञ्चालन भइरहेको गरिबी निवारण कोषका कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले बताए । रासस