तिब्बतको ल्हासास्थित तिब्बत एअरलाइन्सले चेङदु - काठमाडौंको उडान सुरु गरेको छ।
जून १९, २०१७ मा सफलता साथ सम्पन्न भएको आधारभूत प्रामाणिक उडान पश्चात उसले हिजोबाट नियमित रुपमा चेङदु - काठमाडौंको उडान सुरु गरेको हो ।
चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार हिजो साँझ साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो ।
शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मँगलबार, बिहिबार र शनिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए ३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।
तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीन भित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।