विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ।
यही वर्ष जुन ६ मा उनले यो दान गरेको अमेरिकी सेक्यूरिटिज एण्ड एक्सचेन्ज कमिशनले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको द गार्डियनमा उल्लेख छ।
गेट्सले यो दान कसलाई गरे भन्ने आधिकारिक जानकारी छैन। यो रकम गेट्स दम्पतीले सन् २००० मा स्थापना गरेको बिल एण्ड मेलिन्डा फाउन्डेसनमा गएको अनुमान छ।
परोपकारी काम तथा सहयोग गर्दै आएको फाउन्डेसन स्थापनापछि गरेको यो सबैभन्दा ठूलो दान हो। यसअघि उनले सन् १९९९ मा १६ अर्ब डलर र अर्को वर्ष ५ अर्ब १ करोड डलर दान गरेका थिए।
सन् १९९४ यता उनीहरुले ३५ अर्ब डलर दान गरिसकेका छन्। हाल बिल एण्ड मेलिन्डा फाउन्डेसन व्यक्तिगत स्वामित्वमा रहेको विश्वकै धनी सहयोगी संस्था हो।