युनिलिभर नेपालको सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको छ। यस अवधिमा कम्पनीको मुनाफा १३ प्रतिशतले बढेको छ। कम्पनीले यो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड आर्जन गरेको छ भने ९६ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३ प्रतिशत बढी हो।
युनिलिभर नेपाल तीव्र खपत हुने वस्तु उत्पादक (एफएमसीजी) कम्पनी हो। झन्डै साढे दुई महिनासम्म कारखानामा भएको तालाबन्दी, गर्मीयामको गैर–आगमनका कारणले साबुनको बिक्रीमा नकारात्मक प्रभाव परेको जनाउँदै कम्पनीले विविध समस्याका बाबजुद पनि प्रगति हासिल गर्न सफल भएको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुयश चौहानले चुनौतीपूर्ण वर्षमा पनि व्यावसायलाई गतिशील बनाउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले भने ‘सन्तोषजनक प्रगति हासिल गर्नमा सक्षम रह्यौं, व्यवसायको सम्भावनाका बारेमा आशावादी नै रहेका छौँ, ‘स्वस्थ’ र ‘सक्षम’ नेपाल निर्माण गर्ने हाम्रो उद्देश्य हो।’
कम्पनीले छाला तथा कपालको हेरचाहका लागि विभिन्न उत्पादन गर्दै आएको छ। सञ्चालक समितिले प्रति १ सय रुपैयाँ दरको साधारण शेयरमा प्रतिशेयर ११ सयको लाभांश दिने सिफारिस गरेको छ।
यो वर्ष नेपालमा कम्पनीले आफ्नो सञ्चालनको २५ औं वर्ष मनाइरहेको छ । यस अवसरमा उत्सव मनाउनका लागि सञ्चालक समितिले प्रतिशेयर १७० विशेष लाभांश पनि सिफारिस गरेको छ ।