चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न नेपालका लागि चिनका राजदूत यु होङलाई आग्रह गरेका छन्। मंगलबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आएका चिनियाँ राजदूतावासका उच्च पदस्थ अधिकारीहरुलाई स्वागत गर्दै अध्यक्ष चौधरीले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने यो उपयुक्त समय रहेकोमा जोड दिए।
‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भईरहेको छ तर, जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ’, अध्यक्ष चौधरीले भने,‘नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ।’
नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने धारणा राख्दै चौधरीले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए। नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानी पश्चातको प्रतिफल अन्य राष्ट्रहरूकोभन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाईरहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने उनको तर्क थियो।
चिनियाँ राजदूत होङले नेपाल र चीनबीचको आर्थिक सम्वन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त गर्दै दुई देशका निजी क्षेत्रबीच सहजीकरण गर्न आफु तयार रहेको बताइन्। उनले चीनसँगको व्यावसायिक कारोबारमा कुनै समस्या छ कि भन्ने चासो समेत व्यक्त गरेकी थिइन्।