दसैँका लागि खसीबोका खरिद गर्ने सर्वसाधारणका लागि खाद्य संस्थानले शुक्रबारदेखि बिक्री सुरु गर्ने भएको छ।
खसीबोकाको बिक्री वितरण शुक्रबार साँझदेखि हुने भए पनि च्याङ्ग्राको बिक्री वितरण भने आजैबाट सुरु हुने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए।
संस्थानले थापाथलीस्थित आफ्नो गोदामबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण थाल्ने छ। अन्यन्त्र भन्दा संस्थानले बेच्ने खसीबोकाको मूल्य केही सस्तो छ।
अन्यन्त्र जिउँदो खसीबोका प्रतिकेजी ५८० देखि ५९० रुपैयाँसम्म रहेकोमा संस्थानले बेच्ने खसीको मूल्य प्रतिकेजी ४५५ रुपैयाँ मात्रै छ। त्यस्तै संस्थानले बेच्ने जिउँदो बोकाको मूल्य प्रतिकेजी ४५० रुपैयाँ छ।
संस्थानले बेच्ने खसीबोका किन्दा एक केजीमै ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म बचत हुन्छ। त्यस्तै संस्थानले च्याङ्ग्राको बिक्री वितरण भने आजैबाट थाल्ने भएको छ। ‘२ सय च्याङ्ग्रा हामीले काठमाडौं ल्याइसकेका छौँ, आजै साँझबाट च्याङ्ग्राको विक्री वितरण सुरु गर्दैछौँ’ सापकोटाले भने।
जिउँदो च्याङ्ग्रा प्रतिकेजी ६७५ रुपैयाँ रहेको छ। यी च्याङ्ग्रा हिमाली जिल्ला मुस्ताङ र आसपासबाट ल्याइएका हुन्। अन्यन्त्र व्यापारीहरुले बेच्ने च्याङ्ग्राको मूल्य प्रतिकेजी ७२० देखि ७३० रुपैयाँसम्म रहेको छ।
संस्थानले बेच्ने च्याङ्ग्रा प्रतिकेजी ४५ देखि ५५ रुपैयाँसम्म सस्तो पर्दछ। ‘बाहिर नाफाका लागि व्यापार हुने हो, हामीले नाफाभन्दा पनि मूल्य नियन्त्रणका लागि खसीबोका तथा च्याङ्ग्राको विक्री वितरण गर्ने हो, त्यसैले सस्तो हुन गएको हो’ सापकोटाले भने। उनका अनुसार संस्थानले खसीबोका चितवन, दाङ, रुपन्देही, मकवानपुर, पर्सालगायत तराईका जिल्लाहरुबाट राजधानी ल्याउने गर्दछ।
संस्थानले कुल एक हजार च्याङ्ग्रा र १५ सय खसीबोका बिक्री वितरण गर्ने जनाएको छ।