नेपाल आयल निगमसँग भण्डारण रित्तिन लागेपछि हवाई इन्धनको अभाव भएको छ। दशैं लागेसँगै उडान बढ्नु तर सहज आपूर्ति हुननसक्दा निगमसँग हवाइ इन्धनको अभाव देखिएको हो।
निगमको सिनामंगलमा रहेको हवाई इन्धन डिपोमा भण्डारण गरिएको इन्धनको परिणाम सकिनै लागेपछि निगमले अन्तर्राष्टिय उडान भर्ने वायुसेवा कम्पनीहरुलाई सकेसम्म बाहिरबाटै तेल लोड गरेर आउन भनेको छ।
हाल निगमसँग पर्याप्त हवाई इन्धन भण्डारण छैन्। निगमको हवाई इन्धन भण्डारण क्षमता ७ हजार किलोलिटर छ। तर हाल निगमको डिपोमा १ हजार २ सय किलोलिटर मात्र मौजदात रहेको छ।
निगमका हवाई इन्धन डिपो प्रमूख मनोज ठाकुरले माग अनुरुपको सहज आपूर्ति हुन नसक्दा डिपोमा भएको तेलबाट वितरण गरिँदै आएको तर डिपो खाली हुने अजस्था आएपछि भने वायुसेवा कम्पनीहरुलाई उतैबाट तेल लोड गरेर आउन भनिएको उल्लेख गरे।
ठाकुरका अनुसार डिपोमा साउन अन्तिमसम्म ५ हजार किलोलिटर इन्धन भण्डारण थियो तर त्यसपछि आएको बाढीले हवार्इं इन्धन आयात हुने एकमात्र नाका रक्सौलसम्म आइपुग्ने रेल आउन नसक्नु, भारतिय भन्सारको बिलिङ प्रणलीमा आएको परिवर्तन तथा दुई नम्बर प्रदेशमा भएको चुनावले बोर्डर ठप्प भएको जस्ता कारणले गर्दा सहज आपुर्ति नसकेको र हालको स्थिति देखापरेको दाबी गरे।
ठाकुरले सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘हामीसँग साउन अन्तिमसम्म पर्याप्त तेल स्टक थियो। तर त्यसपछि आएको बाढीले हवाई इन्धन आयात हुने एक मात्र नाका रक्सौलसम्म आइपुग्ने रेलको पट्री नै बगायो। यो नबनुन्जेल भण्डारणबाटै तेल वितरण गयौँ। स्थित सहज हुन नपाउँदै भारतिय भन्सारको बिलिङ प्रणाली अनलाइन मार्फत हुने भयो यसले गर्दा भन्सार पास गर्न झन झन्झिटिलो हुन पुग्यो र भन्सारको लामो जाममा दैनिक फस्नु परिरह्यो।’
‘लगतै फेरि दुई नम्बर प्रदेशमा ४८ घण्टासम्म बोर्डर सिल भयो। यही समयमा दसै मनाउन नेपाल फर्किने नेपाली तथा पर्यटनको सिजन पनि सुरु भयो जसले माग पनि ह्वातै बढायो तर नियमित आउनुपर्ने तेल भने आएन जसले गर्दा डिपोमा भएको तेल घट्दै गएर आजको स्थिति आउन पुग्यो’ उनले थपे।
ठाकुरले पर्यटक तथा दसैमा घर फर्किनेको संख्या बढेपछि अन्य समयमा ४ सय किलोलिटर दैनिक माग हुने गरेको हवाई इन्धनको माग बढेर ६ सय कलोलिटर पुगेको समेत जानकारी दिए।
तर उनले अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा कम्पनीलाई तेल नदिने नभनिएको जिकिर गरे। उनले भने, ‘हामीले उहाँहरुलाई तेल दिदैनौँ भनेको छैनौ। हाम्रो भण्डारण सहज नहुन्जेल उतैबाट तेल भरेर ल्याउनुहोला मात्र भनेका हौँ।’
उनले परराष्ट्र मन्त्रालयमार्फत कुटनैतिक पहल गरेपछि आइओसी र निगमका प्रतिनिधि रक्सौल पुगेर स्थितिको अनुगमन गरिएको र आवश्यक निर्देशन र प्रक्रियालाई छोटो बनाइएकाले वातावरण सहज बन्दै गएको बताए।
उनले भने, ‘हाम्रो तर्फबाट गोहित जी (बिरेन्द्र गोहित, प्रवक्ता) जानुभएको छ। आइओसीका तर्फबाट पनि प्रतिनिधि जानुभएको छ। अहिलेसम्म करिब ६० वटा ट्याङक्र इन्धन लोड भइसकेका छन् जसमध्ये करिब ३० वटाको भन्सार पास गरी काठमाडौँका हिडीँ सकेका छन् भने अन्य भन्सार पास हुनेक्रममा छन्।’
उनले आजै साँझसम्म ति ट्यांक्रले एक हजार किलोलिटर तेल ल्याइ पुर्याउने भन्दै स्थिति सहजउन्मुख भइसकेको दाबी समेत गरे। उनले दसैको बिदामा पनि ट्याङ्कर व्यवसायीसँग नियमित ढुवानी गर्ने सहमति भइसकेकाले अवस्था सहज हुने जिकिर गरे।
उनले भने, ‘हामीसँग १२०० किलोलिटर मौजदात छँदैछ, आज त्यहि परिणाम तेल आउँदैछ, भोलिदेखि नियमित तेल आउँछ। त्यस्तै दसैको बेलामा पनि हालको अवस्थामा सजगता अप्नाएर ट्याङ्कर व्यवसायीले पनि नियमित ढुवानी गर्ने सहमती जनाउनुभएको छ। त्यसैले ढुक्क रहनुहोस् कुनै पनि प्रकारको आभव हुन दिने छैनौँ।’