चालु आर्थिक वर्षको पहिलो महिनाभित्रै साढे चार अर्बभन्दा बढी विदेशी लगानी नेपाल भित्रिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु वर्षको साउन महिनामा मात्र ४ अर्ब ६० करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा यो वर्ष २७३ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको पहिलो महिना यस्तो लगानी १ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको लागनी भित्रिएको थियो।
आर्थिक वर्ष २०७३÷७४ मा नेपालमा भित्रिएको कुल लगानीको एक तिहाई लगानी चालु वर्षको एक महिनामै भित्रिएको हो। गत वर्ष कूल १३ अर्ब ५० करोड ३९ लाख रुपैयाँ बराबरको विदेशी लगानी आएको थियो। चालु वर्षको पहिलो महिना आएको लगानी अघिल्लो वर्षको ३४ प्रतिशत हुन आउछ।
विदेशी लगानीको प्रतिबद्धता धेरै आएपनि वास्तविकरुपमा आउने लगानीको अनुपात भने धेरै न्यून हुँदै आएको छ।