तिहारमा पकाइने मुख्य परिकार सेलरोटीका लागि प्रयोग हुने चामलको पिठोको बिक्री प्रत्येक वर्ष घट्दै गएको छ। बजारका पिठोमा मिसावट हुने आशंका तथा सेलरोटीका लागि घरमै पिठो तयार बनाउनेको संख्या बढ्दै गएपछि बजारमा पिठोको विक्रीमा कमी आएको हो।
यस वर्ष पनि यसको बिक्री ह्वात्तै घटेको व्यवसायीहरु बताउँछन्। चामलको पिठोमा अन्य सामाग्रीको मिसावट भएको छ कि भन्ने ग्राहकमा शंका बढ्दै गएपछि यसको बजार खस्केको हो। चामलको पिठो बजारबाट खरिद गर्नेहरुले अहिले आफै घरमा पिठो बनाउन थालेका छन्। तर होटल व्यवसायीहरुले भने अहिले पनि यसको प्रयोगमा कमी ल्याएका छैनन्।
केहि वर्ष अघिसम्म तिहारमा चामलको पिठो अत्याधिक बिक्री हुन्थ्यो। तर पछिल्ला वर्षहरुमा तिहारको समयमा यसको बिक्री खस्कदै गएको छ।
असनमा किराना पसल सञ्चालन गर्दै आएका व्यापारी सञ्जय तुलाधार हरेक वर्ष चामलको पिठोको विक्री घटदै गएको बताउँछन्। ‘पिठोको मुल्य चामलले निर्धारण गर्ने हँुदा भाउ भने गत वर्षहरु झैं रहेको भएपनि विक्री भने विगतका वर्षहरु जस्तो हुन छाडेको छ।’
उनले भने, ‘विगत लामो समय देखि आफैलेनै मीलमा लगेर मनसुली तथा टाइचिन चामलको पिठो पिसेर पिठो बनाउने गरेको छु, कुनै पनि प्रकारको मिसावट छैन् तर उपभोक्ताको विश्वास घट्दै गएको छ। ’
श्रेष्ठका अनुसार तिहारमा पहिलेको जस्तो घरमै सेलरोटी पकाउन छोडिएको र बजारबाटै किनेर लग्नेको संख्या बढेकाले पनि चामलको पिठोको विक्री नबढेको हो। त्यस्तै प्रविधिले ल्याएको सहजताले एक परिवारलाई पुग्ने सेलरोटीलाई आवश्यक पिठो मिक्सचरमार्फत घरमै तयार पार्न सकने भएकाले पसलबाट चामलको पिठो किनेर लैजानेको संख्यामा कमी आएको उनको बुझाई रहेको छ।
बजारमा पाइने पिठो भक्तपुर, चापागाँउ, लुभु, सतुंगल लगायतका गाउँहरुका चामल पिस्ने घट तथा मिलहरुबाट आयात हुने गरेको छ।बजारमा खस्रो, मसिनो र मिक्सकट गरी तीन थरीका चामलका पिठो उपलब्ध छन् जसमा उपभोक्ताले सेलरोटीको लागि खस्रो लग्ने गर्दथे तर आजभोली घरमै चामल भिजाइ पिठो पिस्ने हुँदा बजारमा विक्री कम हुन गएको भनाइ असनकै अर्का व्यापारी सरोज श्रेष्ठको छ।
उनले तिहारकै लागि भनेर चापागाउँबाट पिठो मगाए पनि अपेक्षा गरे अनुसारका मात्रामा विक्री भने नभएको गुनासो गरे। सेलरोटीका लागि टाइचिन चामल किन्दै गरेकी डल्लु घर भएकी सीता सुवेदीले पिठो नलगेर किन चामल भिजाएर घरमै पिस्ने झन्झट गर्नु भएको भन्ने जिज्ञासामा उनले बजारको पिठोमा मिसावट हुने हँदा सेलरोटीमा काँडा नउम्रने, नफुल्ने गरेकाले झन्झट भएपनि घरमै पिठो पिस्न लागेको बताइन् ।
उनले भनिन् ‘तिहारमा पकाइने मुख्य परिकार सेलरोटी त्यसमा प्रयोग हुने पिठोको गुणस्तरले मिठोनमिठो बनाउने हुँदा घरमै पिठो पिस्न लागेकी हुँ । यदि सेलरोटीमा काँडा उमे्रन वा राता भइदिएन्न भने कसैले खान खोजदैन्न त्यसैले पनि घरमै पिस्न लागेकी हुँ ।’
हाल बजारमा ६० देखि १५० रुपैयासम्मका खस्रो, मसिनो र मिक्सकट गरी तिन विभिन्न थरीका चामलका पिठो पाइन्छ। त्यस्तै सेलरोटी फापरको पिठोबाट समेत पकाउन सकिन्छ। बजारमा फापरको पिठोको मूल्य भने प्रतिकेजी १४० देखि १७० सम्म पर्छ।