कलंकी र सीतापाइला चोकको लगभग बीचमा शुक्रबार बिहान ७ बजेबाटै ट्याक्सी चालकहरू धमाधम भेला हुन थाले। सडक किनार मिटरवाला ट्याक्सीको डोरो बन्यो।
अघिल्लो दिनै यो कार्यक्रमबारे थाहा पाएकाहरू एकाबिहानै जम्मा भएका थिए। थाहा नपाएकाहरू पनि ट्याक्सीको भिड देखेर विस्तारै मिसिँदै गए।
एक घन्टामै करिब दुई सय ट्याक्सीको दोहोरीलत्ता बन्यो। दुई सय चालक सडक किनारको ठूलो वृक्षमुनि गोलो परे। प्लास्टिकका कुर्सीहरू राखिए। सानो मञ्च बन्यो। पछाडि रूखका हाँगा र बिजुली खम्बामा बाँधेर नीलो रङको तुल टाँगियो। जसमा सेतो अक्षरले लेखिएको थियो- ट्याक्सी चालक सामाजिक सुरक्षा एवं ट्याक्सी मिटर शुद्धीकरण जनचेतना कार्यक्रम।
मंसिर मसान्तको चिसो बिहान न्यानो घाममुनि भेला भएका यी चालकहरू सामूहिक रूपमा एउटा प्रण गर्दै थिए- 'हामी आजबाट मिटरमा मात्र हिँड्ने छौं। मिटरमा उठेभन्दा बढी पैसा तिर्न उपभोक्तालाई बाध्य पार्ने छैनौं।'
वर्षौंदेखि मिटर बिगारेर उपभोक्ता ठगेको बात् लाग्दै आएका यी चालकले सम्भवत: पहिलोपटक यस्तो प्रण गरेका थिए।
उनीहरूको एउटा सर्त पनि छ- अहिलेको भाडा दरमा ट्याक्सी चालकको जीविका चल्दैन। काठमाडौंमा बसेर बालबच्चा पाल्न सकिन्न। सरकारले एक महिनाभित्र भाडा समायोजन गरी इमानदारीपूर्वक पेसा गरेर बाँच्न सक्ने वातावरण बनाइदियोस्।
पेसागत शुद्धीकरण अभियानमा लागेका ट्याक्सी चालकहरूको यो कार्यक्रममा बालाजु, कोटेश्वर, कलंकी, चाबहिल, बौद्ध जोरपाटी, त्रिभुवन विमानस्थल, बानेश्वर, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँका प्रतिनिधि उपस्थित थिए। सबैलाई 'उपभोक्ता नठगौं, असल चालक बनौं' भन्ने अपिलपत्र बाँडिएको थियो।
केही दिनभित्रै यो अभियान उपत्यकाका झन्डै ११ हजार चालकसम्म पुर्याउने आयोजकले बताएको छ।
'हामीले तीन-चारवटा विभिन्न संघका चालक र व्यवसायी बसेर बिहीबार छलफल गरेका थियौं,' ट्याक्सी चालक राम थापाले कार्यक्रमकै बीचमा सेतोपाटीसँग भने, 'उपभोक्ता र समाजको नजरमा हाम्रो छवि नराम्रो छ। ट्याक्सी ड्राइभरको छोराछोरी भनेपछि त बिहेबारी पनि नहोला कि भन्ने डर भइसक्यो।'
उनले अगाडि भने, 'हामी सबै ठग छैनौं। केही नियत खराब भएकाहरूले गर्दा हाम्रो पूरै पेसा बद्नाम छ। अब यो प्रवृत्ति सुधार्ने प्रयासमा लागेका छौं।'
काठमाडौंभित्र गुड्ने ट्याक्सीमा 'हाउ मच' प्रवृत्ति व्याप्त छ। अधिकांश चालक मिटर चलाउन मान्दैनन्। मनलाग्दी भाडा भन्छन्। नजिकका ठाउँ त जानै खोज्दैनन्। यही प्रवृत्तिले उपभोक्तामा ट्याक्सी व्यवसायप्रति विश्वास घट्दो छ।
'हाम्रो अभियान त्यही गुमेको विश्वास आर्जन गर्ने कोशिस हो,' अर्का चालक पूर्णमान तामाङले भने।
ट्याक्सीमा उपभोक्ता ठगिने क्रम बढेको उनी आफैं पनि स्वीकार्छन्। भन्छन्, 'कसैका बाध्यता होलान्, कसैको नियत। जे जस्तो भए पनि हामीले आफ्नो समस्याको भार यात्रुलाई बोकाउन हुँदैन। सरकारले भाडा बढाइदिएन भन्दैमा उपभोक्तासँग मनलाग्दी असुल्नु गलत हो। सरकारसँग राख्ने माग सरकारसँगै राखौं, उपभोक्तालाई भने मिटरमै सेवा दिउँ।'
पूर्णमानका अनुसार ट्याक्सी चढ्नेबित्तिकै जति भाडा उठ्छ, त्यो एकदमै कम छ। यसलाई 'फ्ल्याग डाउन' भाडा भनिन्छ। विदेशतिर यस्तो भाडा बढी हुन्छ भने प्रतिकिलोमिटर भाडा कम। यहाँ भने ठिक उल्टो छ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा संसारका धेरै देशमा फ्ल्याग डाउन भाडा १ देखि ३ किलोमिटरको हुन्छ। यसको तुलनामा हाम्रो कमै देखिन्छ। किलोमिटरका हिसाबले उठ्ने भाडा भने यहाँ एकदमै महँगो छ।
अहिले दिल्लीको फ्ल्याग डाउन भाडा ५० भारू छ। यसले यात्रुलाई एक किलोमिटरसम्म पुर्याउँछ। त्यसपछि हरेक किलोमिटरमा १२ भारू उठ्दै जान्छ। यहाँ भने ट्याक्सी चढ्नेबित्तिकै १४ रूपैयाँ उठ्छ। त्यसपछि हरेक किलोमिटरमा ३९ रूपैयाँ।
यसको मतलब, दिल्लीमा एक किलोमिटर मात्र यात्रा गरेको भाडा महँगो छ। त्यसपछि जति टाढा गयो, उपभोक्तालाई उति सस्तो पर्दै जान्छ। यहाँ उल्टो हुन्छ।
त्यस्तै, बेइजिङमा फ्ल्याग डाउन भाडा १३ चिनियाँ युआन छ। यसले तीन किलोमिटर यात्रा गराउँछ। त्यसपछि हरेक किलोमिटरमा ३.४५ युआन बढ्दै जान्छ।
यी छिमेकी देशको दाँज्दा नेपालमा ट्याक्सी भाडा निर्धारण विधि अवैज्ञानिक मात्र छैन, यसले ट्याक्सी चालक र उपभोक्ता दुवैलाई मर्कामा पारेको छ। चालकहरूलाई कम दुरीमा जाँदा पोसाउँदैन। त्यही भएर उनीहरू जान मान्दैनन्। टाढा जानुपरे बढी भाडा उठ्ने हुँदा यात्रुको ढाड सेकिन्छ।
'सबैको भन्न सकिन्न, तर धेरैजसो चालकले बाँच्नका लागि ठगिरहेका छन्,' पूर्णमानले भने, 'बिहान ६ देखि बेलुकी १० बजेसम्म खट्दा पनि गाडी मालिकलाई दिने वा किस्ता तिर्ने पैसा उठ्न गाह्रो छ। दिनभरको खाना, खाजा अलग्गै। परिवार पाल्नुपर्छ। सरकार यी सबैमा आँखा चिम्लेर हामीलाई मात्र ठग दोष लगाउँछ।'
सरकारले भाडाको समस्या व्यवस्थित गर्ने हो भने मिटरमा नजाने प्रवृत्ति आफैं हट्ने उनले दाबी गरे।
एघार हजार परिवारको रोजीरोटीसँग जोडिएको ट्याक्सी सेवाको यो समस्या हल गर्नभन्दा सरकार कारबाहीमै केन्द्रित भएको उनको आरोप छ। पछिल्लो पाँच वर्षमा झन्डै २८ हजार चालक कारबाहीमा परेका छन्। ट्याक्सी ठगी भने रोकिएको छैन।
'बाउले अंश दिएन भनेर छिमेकी लुट्ने गर्न त भएन नि,' पूर्णमानले भने, 'यही अवस्था रहे हाम्रो व्यवसायको साख घट्छ। सबैको नजरमा गलत भएका हामी सबै कुनै दिन पाखा लाग्नेछौं। व्यवसाय जोगाइराख्न र सम्मानजनक बनाउन कानुनअनुरूप नै चलौं भन्ने अनुरोध सबै चालकलाई गरेका हौं।'
गल्ती नगरी एकजुट भएर उचित माग राखे उपभोक्ता र सम्बन्धित निकायले साथ दिने विश्वास उनले व्यक्त गरे।
चालक सानुपूर्व छाने मगर विगतमा सरकारसँग माग राख्दा पनि सुनुवाइ नभएको गुनासो गर्छन्। ट्याक्सी व्यवसायी र चालकको कुरा सुनेर समस्या सुल्झाउन प्रयास गर्ने हो भने कुनै यात्रु नठगिने उनको भनाइ छ।
'हामी जहिल्यै अपहेलित र लुटेरामा गनिन थाल्यौं,' उनले भने, 'हामीलाई पनि आफूले गरेको पेसामा सम्मान नपाउँदा नराम्रो लाग्छ। मिहिनेत गरे पनि सम्मान भएन भने के अर्थ? यही कुरा सबैलाई बुझाउने हाम्रो प्रयास हो।'
अर्का चालक दीपक पोखरेलले भने चालकहरूले इमानदार भएर काम गरे समस्या नहुने बताए।
'हामीले काम गर्ने १२ घन्टा हो। यो अवधिमा मिटरमै जाँदा पनि हामीलाई पुग्ने पैसा कमाइन्छ,' उनले भने, 'खान पनि पुग्छ। छोराछोरी पढाउन पनि। बिहान ८ बजे निस्केको चालकले १२ बजे नै ३ हजार कमाउँछु भन्छ भने चाहिँ पक्कै पुग्दैन। यही हतार र लोभले हो समस्या निम्त्याउने।'
कार्यक्रममा सहभागी स्वयम्भूका ट्राफिक प्रहरी असई श्याम चौधरीले ट्याक्सी चालकहरूको यो अभियानलाई सराहनीय बताएका छन्।
'उहाँहरू आफैं सचेत भएर लाग्नु राम्रो हो,' उनले भने, 'चालकहरूले सबभन्दा पहिला आफू कानुनको दायरामा बस्ने र उपभोक्ता नठग्ने हो भने ट्याक्सीमा देखिएका अन्य समस्या आफैं हटेर जान्छन्।'
चालकहरूले खोजेको पनि यही हो।
मंसिर मसान्तको चिसो बिहान न्यानो घाममुनि उभिएर उनीहरूले यही सन्देश दिन खोजेका हुन्- हामी उपभोक्ता ठग्दैनौं, सरकारले हाम्रो माग पूरा गरिदियोस्।
सबै तस्बिर: चेतना गुरागाईं/सेतोपाटी
यी पनि हेर्नुहोस्: