नेपालको पुरानो पुस्तकालयको अवस्था कस्तो होला?
यो जिज्ञासाको उत्तर खोज्दै हामी २००३ सालतिर खुलेको प्रदिप्त पुस्तकालय पुगेका थियौं। असनबाट इन्द्रचोक नपुग्दै आउने मासं गल्लीमा छ, प्रदिप्त। पहिले यो गल्लीको नाम 'मसान गल्ली' थियो। कुनै समय 'नारायण दाइको मःम पसल' का कारण प्रसिद्ध थियो यो गल्ली। वसन्तपुरमा सरेपछि गल्लीको चमकधमक घटेको छ।
गल्लीसँगै ओझेल परेको पुस्तकालय पनि नाम मात्रकै छ। काठमाडौं महानगरपालिका वडा नं २५ रहेको भवनको दोस्रो तल्लामा रञ्जना लिपी र अंग्रेजीमा 'प्रदिप्त पुस्तकालय' संकेत गरिएको छ। भुइँचालोपछि सरेर तेस्रो तलामा पुगेको प्रदिप्त एउटा कोठामा खुम्चिएर बसेको रहेछ।
अंग्रेजी, नेपाली, हिन्दी र नेवाः भाषाका पुस्तक संकलित पुस्तकालय अहिले बन्द छ। व्यवस्थापनक्रममा रहेको पुस्तकालय पुग्दा केही पुराना पत्रिका भुइँभरी छरिएका थिए, टेबलहरू मिलाउनै बाँकी थियो।
'हामीले कतिपय किताब अनि पुराना पत्रपत्रिका केही दिनअघि मात्रै जलायौं,' पुस्तकालयका सदस्य पूर्णभक्त श्रेष्ठका कुरा सुनेर हामी झसंग भयौं।
'पुराना पत्रपत्रिका राखेर के गर्नु। राख्दा राख्दै धूलो र कीरा लागेर चिलाउने समस्या,' उनले थपे।
अहिले अस्तव्यस्त अवस्थामा रहेको पुस्तकालय बनाउने बेलामा दुःख भने कम्ता थिएन। समाजसेवी एवं राजनीतिज्ञ प्रेमबहादुर कंसाकारले यो पुस्तकालय त्यसै बनाएका थिएनन्, राणाकालीन समयमा विद्रोहको संकेत थियो। आफ्नै घरको कोठामा अखबार पढ्ने, किताब पढाउने अनि विशेषगरी छलफल र राजनीतिक तालिम दिँदै राणाको विरोधमा मान्छे तयार गर्ने ठाउँ थियो यो।
'बाहिरै बोर्ड राखेर पुस्तकालय खोल्ने इजाजत थिएन। भित्रभित्रै लुकेर खोल्नु परेको थियो,' पुस्तकालयका वर्तमान अध्यक्ष एवं भूतपूर्व प्रधान पञ्चसमेत रहेका ८२ वर्षीय कमल चित्रकारले भने, 'पुस्तकालयकै कारण प्रमेबहादुर जेल पुगेका थिए। प्रजातन्त्रपछि मात्रै पुस्तकालय सार्वजनिक भयो।'
त्यही पनि पुस्तकालयको आफ्नै भवन नहुँदा ठाउँ–ठाउँमा सरिरह्यो। कहिले कसको त कहिले कसको घरको कोठामा। २०४० सालतिर बल्ल पुस्तकालय खोल्ने ठाउँ पक्कापक्की भएछ। हाल प्रदिप्त पुस्तकालय भवन रहेको करिब ३ आना पर्ति जग्गामा त्यो बेला सार्वजनिक शौचालय थियो। व्यवस्थापन नभएका कारण यसै रह्यो।
त्यो बेला पुस्तकालय अध्यक्ष चित्रकार काठमाडौंका मेयर रहेछन्। उनका अनुसार राजा वीरेन्द्रका भाइ धिरेन्द्रको अध्यक्षतामा सामाजिक संस्थालाई मद्धत गर्ने भनेर कोष खडा भएको थियो। त्यही मौकामा उनले त्यस जग्गामा पुस्तकालय भवन निर्माणका लागि आवेदन दिएछन्।
'पछि कान्छो सरकारसँग कुरा गरेर तीन लाख रुपैयाँ पायौं। नगरपालिका अनि साथीहरूको मद्धतले भवन निर्माण सुरू गर्यौं,' चित्रकारले भने, 'कंसाकार राणा शासनको विरोधमा प्रमुख मान्छे, अनि पुस्तकालयका संस्थापक भएकाले यो भवनको नाम प्रेमबहादुर कंसाकार लुमन्ती छेँ (स्मारक घर) राख्यौं।'
यता वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको भने यो पुस्तकालयसँग २००६ सालतिरै लगाव रहेछ। उनले संस्थापक कंसाकारसँग विभिन्न संस्थामा आबद्ध भएर काम गरेका थिए। कंसाकारको प्रदिप्त पुस्तकालय पुग्दा–पुग्दा उनले पुस्तकालयका सबै किताब पढेर सकेछन्।
'कति नै थियो र किताब! तीन–चार सय न हो,' शान्तदासले भने, 'भएका जति सबै नेपाली। त्यो बेला नेवाः भाषामा दमन जो थियो।'
उनका अनुसार दमन भएकै कारण नेवाः भाषाको पत्रिका 'धर्मोदय' दार्जलिङबाट निस्कन्थ्यो। यद्यपी, त्यो समय काठमाडौंका स्थानीयले बुझ्ने र बोल्ने नेवाः भाषा नै थियो। बाहिरबाट आएकाले यहाँको वातावरणमा भिज्न नेवाः भाषा सिक्नै पर्ने हुन्थ्यो।
'हामी नेवार भएकाले पहिलेपहिले नेपालीमा कुरा गर्न आउँदैनथ्यो। यो मेरो भाषा नै होइन भन्ने हुन्थ्यो। म नेपाली बुझ्थेँ तर राम्ररी बोल्न आउँदैनथ्यो,' शान्तदासले भने, 'पछि साथीहरू जम्मै नेपाली बोल्ने भए, मैले पनि जानेँ। किताब पढ्न त्यसैले सघायो। नेवाः भाषा पनि लेख्न त नआउने, धर्मोदय पढेपछि आउन थालेको हो।'
२०२० सालमा त शान्तदासले नेपालीमा 'एकराज्य' भन्ने किताब नै निकाले। २०१५ सालमै अंग्रेजीमा उनको निबन्धको किताब निक्लिसकेको थियो।
राणाकालीन समयमा किताब निकाल्नु र पुस्तकालय खोल्नु चुनौतीपूर्ण थियो। किताब र पुस्तकालय खोलेकै कारण जेल पुग्ने डरले लुक्नुपर्थ्यो।
अध्येता रमेश पराजुलीका अनुसार राणाहरू नागरिकलाई रैती बनाएर राख्न चाहन्थे। तसर्थ, त्यस समयमा नागरिकलाई शिक्षा, ज्ञान आर्जन गर्न बन्देज लगाइयो।
'दुनियाँ शिक्षित भयो भने आफ्नो खैरियत छैन' भन्ने बुझेका राणाहरूले शैक्षिक क्षेत्रमा प्रगति गर्न दिएनन्। राणाशासन अन्त्यको एक दशकजति पुस्तकालयसँगै शैक्षिक संस्था खुल्ने क्रम व्यापक भए पनि पञ्चायतमा त्यो ठप्प भयो। पञ्चायतकालमा शैक्षिक विकासको नारा घन्काइए पनि राज्यको प्रकृति राणाकालको जस्तै भएकाले सार्वजनिक पुस्तकालय उँधो लाग्यो।
पराजुलीको अध्ययनअनुसार १९७२ सालमा सिरहामा खुलेको 'श्री गोरखा शारदा भवन पुस्तकालय' नेपालको पुरानोमध्येको सार्वजनिक पुस्तकालय हो। त्योभन्दा अघिदेखि धर्म, दर्शन, तन्त्र, ज्योतिष, साहित्य लगायत विषयमा सरकारी अभिलेखालय संग्रह गर्ने मल्ल–शाहकालीन इतिहासलाई पुस्तकालयको इतिहासको रुपमा चर्चा गरिँदै आए पनि त्यो सार्वजनिक प्रयोगका लागि थिएन।
सबै सर्वसाधारणले निर्वाध उपयोग गर्न पाऊन् भन्ने अर्थमा अंग्रेजी 'पब्लिक लाइब्रेरी' ले बोक्ने अर्थसँग नेपाली 'सार्वजनिक पुस्तकालय' ले तादात्म्य राख्छ। तर यी दुवैको सञ्चालन विधि र संस्थागत रुपमा भिन्नता पाइएको पराजुली बताउँछन्।
'अन्यत्र सार्वजनिक पुस्तकालयको सञ्चालन भार स्थानीय सरकारले बोकेका हुन्छन्। हामीकहाँ भने यस्ता पुस्तकालयको स्थापना र सञ्चालन प्रायः स्थानीय व्यक्तिहरूकै प्रयासमा भइरहेको छ,' पराजुलीले भने, 'सिरहाको सार्वजनिक पुस्तकालयले लगभग एक शताब्दी पार गरिसक्यो। यसको संख्यात्मक वृद्धि भए पनि त्यसले प्रदान गर्ने सुविधा बढ्न सकेको छैन।'
प्रदिप्त पुस्तकालयकै कुरा गर्दा भुइँचालोपछि सञ्चालन राम्ररी हुन नसकेको अध्यक्ष कमल चित्रकार बताउँछन्। उनका अनुसार पहिलेका चुनावमा वडा नम्बर २७ र २८ मिलेर अहिले २५ नम्बर भयो। वडालाई फराकिलो ठाउँ चाहियो भनेर पुस्तकालय सार्न आग्रह गरियो।
'वडाको काम महत्वकै भएकाले हामी सर्यौं। त्यसपछि व्यवस्थित गर्न सकिरहेका छैनौं,' उनले भने, 'अलमल भइरह्यो।'
अबको केही महिनामा पुस्तकालय व्यवस्थित गर्दै पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ। चार–पाँच हजार मात्रै किताब रहेको पुस्तकालयको माथिल्लो तलामा दुइटा हल पनि छन्। त्यहाँ सामाजिक एवं सांस्कृतिक गतिविधि गर्दै पुस्तकाय विस्तार गर्ने सोच छ।
'तर पुस्तकालय पहिले जस्तो महत्वको भएन अहिले,' भारतीय पुस्तकालयसमेत नचलेको उदाहरण दिँदै चित्रकारले भने, 'किताबभन्दा अखबार पढ्ने मान्छे धेरै आउँछन्।'
जमाना बदलिएकाले पुरानै हिसाबमा पुस्तकालय नचल्ने उनको ठम्याइ छ। यसैले पुस्तकालयमा आधुनिक शैली जोड्दै त्यसको विकास गर्ने योजना बनाएका छन्।
संस्थापक कंसाकारले नै बुबा आशामानको नाममा खोलेको 'आशा सफू कुथी' भने हाल सञ्चालनमा छ। रक्तकालीमा रहेको आशा सफू अहिले सर्वसाधारणका लागि पढ्ने अनि पुराना अभिलेखालयबारे बुझ्ने ठाउँ बनेको छ। प्रदिप्तभन्दा पछि २०१५ सालमा खुलेको विप्लवी पुस्तकालयमा पनि बेलुकी ५ बजेदेखि दुई घन्टा बुढापाकाहरू पत्रपत्रिका पढिरहेका देख्न सकिन्छ।
नेपालमा आजको दिन (भदौ १५) लाई पुस्तकालय दिवसका रूपमा मनाइँदै आएको छ। राजा गिर्वाणयुद्ध शाहले १८६९ सालमा बसन्तपुर दरबारका पुस्तकका लागि जारी गरेको सनदपत्रको मितिमा नै पुस्तकालय दिवस मनाउन थालिएको हो।
'पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार' नाराका साथ यस वर्ष १२ औं पुस्तकालय दिवस मनाइँदैछ।
यद्यपी, सार्वजनिक पुस्तकालयमा सरकारी निकायको नजर पुगेको देखिँदैन।
त्यसैले होला, साहित्यकार शान्तदास मानन्धर भन्छन्, 'जनता आफैंले खोलेका कुराहरू सधैं सानै त हुन्छन्।'
सबै तस्बिरः सबिना श्रेष्ठ
पुस्तकालय सम्बन्धी थप स्टोरीहरू पढ्नुहोस्ः