मलेसियामा भइरहेको उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत शनिबार नेपालले बंगलादेशसँग खेल्दैछ। मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा हुने खेल वर्षाका कारण अझै सुरू भएको छैन।
समूह ‘ए’ मा रहेको नेपालले बंगलादेशसँग अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन्। त्यसमा नेपालले एक खेल मात्रै जितेको छ भने बाँकी तीन खेल बंगालदेश विजयी भएको छ।
नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।
सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।
मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।
समूह 'ए' अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। समूह 'बी' को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ।
https://twitter.com/ACCMedia1/status/929161503835439104
नेपाली टिमदीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह।
वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी।
मुख्य प्रशिक्षक – विनोदकुमार दास
सहायक प्रशिक्षक – कलाम अली
ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई
म्यानेजर – रमन सिवाकोटी