एसिसी यू–१९ एसिया कपमा भारतलाई हराएको नेपाली टिमलाई बधाइको ओइरो लागेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका मानिसले नेपाली टिमलाई ऐतिहासिक जीतका लागि बधाइ दिएका छन्।
प्रधानमन्त्री देउवाले भारतविरुद्धको जीतलाई भव्य भनेका छन्। ‘हो, हामीले जित्यौं। भारतविरुद्ध भव्य जीत हासिल गरेकोमा नेपाली टिमलाई बधाइ। कप्तान दीपेन्द्रसिंह ऐरी र टिम नेपाललाई हामीलाई गौरवान्वित बनाएकोमा धन्यवाद,’ प्रधानमन्त्रीले लेखेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जीतलाई ऐतिहासिक भनेका छन्। उनले लेखेका छन्–एसीसी अन्डर-१९ एसिया कपमा ऐतिहासिक जीत निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई । तपाईंहरुको खेल यात्रा अझै अगाडि बढोस् भन्ने कामना गर्दछु ।
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले युवा टोलीको प्रदर्शनलाई गज्जबको भनेका छन्। ‘केटाहरुले गज्जबको प्रदर्शन गरे, यो भन्दा राम्रो हुनै सक्दैन। निःशब्द भएको छु, जय नेपाल,’ पारसले लेखेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले यसलाई ऐतिहासिक जीत भनेका छन्।
‘नेपालले भारतलाई पराजित गरेको छ। ऐतिहासिक बिजयको लागि टिम नेपाललाई हार्दिक बधाइ। नेपालको जय होस्,' थापाले लेखेका छन्।
कांग्रेस नेता गगन थापाले नेपाली युवा टोलीको प्रदर्शन असाधारण भएको बताएका छन्। उनले भनेका छन्( यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउन गरेको असाधारण प्रदर्शनका लागि नेपाली युवा टोलीलाई बधाइ।
कलाकार निश्चल बस्नेतले लेखेका छन्- नेपाली टोलीलाई बधाइ। तपाईंहरूले उदाहरण बनाउनु भएको छ। हामीहरू केवल क्रिकेट खेल्ने राष्ट्रमात्रै नभएर जित्ने टोली पनि हौं। जय नेपाल। गर्वको क्षण!
नेपालस्थित अमेरिकी राजदूतावासले पनि नेपाली टिमलाई बधाइ दिएको छ। अमेरिकी दूतावासले भनेको छ- एसिसी १९ वर्षमुनिको एसिया कप अन्तर्गत भारतीय युवा टिमलाई १९ रनले पराजित गरी ऐतिहासिक जित प्राप्त गरेका कप्तान दिपेन्द्र ऐरी लगायत युवा टिमलाई बधाई तथा थप सफलताको शुभकामना!
मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा आइतबार नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको हो।
कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास रचेको हो।
नेपालको ऐतिहासिक र महत्वपूर्ण जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । ब्याटिङमा ८८ रन बनाएका कप्तान ऐरीले बलिङमा भारतको ४ विकेट झारेका थिए ।
नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो।
नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो।
भारतका लागि हिमांशु रानाले ४६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै भारतका मन्जोत कलराले ३५ रन बनाए । अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि पवन सर्राफ र शाहव आलमले समान २–२ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र सन्दिप लामिछाने समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालको इनिङ्समा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको इनिङ्स खेले । ओपनर जितेन्द्र सिंहले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
भारतका आदित्य थकारेले ४ विकेट लिएका थिए । विवेकानन्द तिवारीले ३ तथा शिव सिंह र अभिषेक शर्माले समान २–२ विकेट हात पारेका थिए । मन्दिप सिंह, शिव सिंह र आथरभा तैडेले समान १–१ विकेट हात पारेका थिए।
जितसँगै नेपालले अर्काे चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो अन्तिम खेलमा आयोजक मलेसियासँग खेल्न बाँकी छ। नेपाल र मलेसियाबीचको खेल मंगलबार हुँदैछ।