मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा भारतमाथि १९ रनको सनसनीपूर्ण जित निकालेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
सेमिफाइनल प्रवेशका लागि नेपालले मंगलबार घरेलु टिम मलेसियासँग समूह चरणको अन्तिम प्रतिस्पर्धा गर्दैछ। समूहको अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन्। दुई खेलबाट सेमिफाइनलमा पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ।
आफ्ना दुबै खेलमा जित निकाल्दै ४ अंकसहित बंगलादेश तालिकाको शीर्ष स्थानमा छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार ब्यहोर्द २ अंक छ। तर नेट रनरेटका आधारमा भारत दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ।
आजको खेलमा मलेसियालाई २६२ रनले हराएको बंगलादेशलाई सेमिफाइनलमा पुग्न सहज हुनेछ। नेपाल र भारतका लागि सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ साथै अर्को खेलमा पनि भर पर्छ।
यदि भोलि बंगलादेशले भारतमाथि जित निकाले र नेपालले मलेसियालाई हराए नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्नेछ। तर, भारत विजयी भएमा नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।
समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको नेपालले पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको थियो। अन्तिम ओभरमा १० रन रोक्न नसक्दा नेपाललाई बंगलादेशसँग हार बेहोर्नु परेको थियो।
दुई महिनाअघि नेपालले मलेसियाको युवा टिमलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा हङकङलाई ५ विकेटले हराउँलै प्रतियोगिताको विजेता बनेको थियो।
यदि नेपाल सेमिफाइनल पुगेमा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत वा बंगलादेशमध्ये एक टिम समूह चरणबाटै बाहिरनेछ। भोलि नेपाल र बंगलादेश विजयी भए दुवै टिम सेमिफाइनलमा पुग्नेछन् भने भारत बाहिरनेछ। भारत विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुनेमध्ये २ टिम सेमिफाइनल पुग्नेछन्।