आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसँग ५ रनले पराजित भएको छ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनायो।
८० रनको लक्ष्य पछ्याएको नेपालले जवाफमा २० ओभरमा नौ विकेट गुमाउँदा ७४ रनमा रोकियो। अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा नेपालले जोड्न सकेन। नेपालका लागि दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके।
नेपालको स्कोर १० रन हुँदा सीता रानामगर सात रनमा आउट भइन् भने त्यसको लगत्तै इन्दु बर्मा पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किइन्। त्यसपछि थप एक रन जोड्दा कप्तान नेरी थापा डकआउट भएपछि नेपालले ११ रनमा तीन विकेट गुमायो। नेपालको स्कोर २७ रन हुँदा ज्योती पाण्डे व्यक्त्तिगत १२ रनमा पेभेलियन फर्कएपछि नेपालले चार विकेट खेर फाल्यो।
त्यसपछि नेपालले थप ४१ रन बनाउँदा सात विकेट गुमाइ सकेको थियो। जसकारण नेपाल पूर्ण रुपमा दबावमा पर्यो। नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन्। एकपछि अर्को विकेट गुमाएको नेपालका लागि रितु कनौजियाले २२ रन बनाउँदै जितको आशा देखाए पनि नेपाल अन्तिममा चुक्न पुग्यो।
युएइको स्कोर आठ रन हुँदा रुपा नगराजलाई रुविनाले नै व्यक्तिगत दुई रनमा आउट गरिन्। लगत्तै क्रिजमा आएकी प्रियाञ्जली जैनलाई पनि एक रनमा रितु कनौजियाले आउट गरेपछि युएइले १० रनमा तीन विकेट गुमायो। बलिङतर्फ रुविना क्षेत्रीले तीन तथा रितु कनौजियाले दुई र नेरी थापाले एक विकेट लिए।
अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।