प्रतिबन्धित लागू औषध प्रयोग (डोपिङ) गरेको पाइएपछि भारतीय क्रिकेटर युसुफ पठानलाई प्रतिवन्ध लगाइएको छ।
पछिल्लो एक घरेलु प्रतियोगिताका क्रममा उनले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको खुलासा भएको हो।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले हाल भारतको बरोडाको टोलीबाट खेलिरहेका युसुफलाई प्रतिबन्धित औषधि प्रयोग गरिएको पाइएपछि ५ महिनाको प्रतिबन्ध लगाइएको हो।
बिसिसिआइले एक विज्ञप्ति जारी गर्दै घरेलु टी–२० प्रतियोगिताका क्रममा १६ मार्च २०१७ मा लिइएको पिसाबको नमुनाको चेकजाँचका क्रममा पठानले प्रतिबन्धित लागूऔषध प्रयोग गरेको भेटिएको उल्लेख गरेको छ।
नमुना चेकजाँच पश्चात गत अगष्ट १५ देखि यही जनवरी १५ सम्म पठानलाई क्रिकेटका कुनै पनि गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाएको बिसिसिआइले जनाएको छ।
पठानले भने आफू अस्वस्थ्य हुँदा ब्रोजिट नामको औषधी सेवन गरेको र उक्त औषधि प्रतिबन्धित नभएको प्रतिक्रिया दिएका छन्। आफू सँधै निष्पक्ष खेलको पक्षमा रहेको बताउँदै उनले उक्त औषधि प्रतिबन्धित भएको थाहा नपाएर मात्रै सेवन गरेको बताएका छन्।
भारतका लागि ५७ वटा एकदिवसीय र २२ टी–२० अन्तराष्ट्रिय खेल खेलेका पठानले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल २०१२ मा दक्षिण अफ्रिका विरुद्ध खेलेका थिए।