रिशब पन्तले ट्वान्टी२० क्रिकेटमा दोस्रो छिटो शतक प्रहार गरेका छन्। भारतको घरेलु टि-२० प्रतियोगिता सैयद मुस्ताक अलि ट्रफिमा दिल्लीको लागि खेलेका पन्तले हिमान्चल प्रदेश विरुद्ध ३२ बलमा शतक पूरा गरेका हुन्।
यो टि-२० क्रिकेट इतिहासकै दोस्रो छिटो शतक पनि हो। सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड भने क्रिस गेलको नाममा छ। गेलले आईपिएल २०१३ मा युवराज सिंहको पुने वारीयर्स विरुद्ध ३० बलमै शतक प्रहार गरेका थिए।
१४५ रनको लक्ष्य पछ्याउने क्रममा २० वर्षीय बायाँ हाते ब्याट्सम्यान पन्तले ३२ बलमा नै आफ्नो शतक पुरा गरे। उनले ११६ रनको अविजित पारी खेल्ने क्रममा ३८ बलमा ८ चौका र १० छक्का प्रहार गरेका थिए।
रिशब पन्त यस्तै खतरनाक तथा विस्फोटक पारिको लागि चिनिने गर्दछन । सन् २०१६ को यु १९ विश्वकपमा पन्तले नेपाल बिरुद्द पारीको सुरुवात गर्दै ७८ रनको पारि खेलेका थिए । मात्र २४ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरेका उनले यु१९ विश्वकपमा सबैभन्दा छिटो १८ बलमा अर्धशतक बनाउने किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
आईपीएलको एघारौं संस्करणमा पनि दिल्ली डेयरडेभिल्सबाट खेल्न लागेका रिसभ पन्त लाई ८ करोडमा क्लबले रिटेन गरेको छ।
यी हुन् छिटो शतक प्रहार गर्ने खेलाडी ( टि-२० म्याच )३० बल – क्रिस गेल ( वेस्ट इन्डिज )
३२ बल – रिशव पन्त (भारत )
३४ बल – एंड्रू सिमोंड्स (अस्ट्रेलिया )
३५ बल – एल.पि भानडर वेस्थुजिन ( नामिबिया )
३५ बल – रोहित शर्मा ( भारत )
३५ बल – डेभिड मिलर ( दक्षिण अफ्रीका )