न्युजिल्याण्डमा जारी यु-१९ विश्वकपमा आयोजकलाई फराकिलो अन्तरले हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ।
अघिल्लो संस्करणको प्लेट च्याम्पियन अगानिस्तानले आयोजक न्युजिल्याण्डलाई २०२ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।
अफगानिस्तान समूह ‘डी’ को उपविजेता तथा न्युजिल्याण्ड समूह ‘ए’ को बिजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा अफगानिस्तानले सोमबार अस्ट्रेलियाको सामना गर्नेछ।
क्राइस्टचर्चमा अफगानिस्तानले दिएको ३१० रनको लक्ष्य पछ्याएको घरेलु टोली २८.१ ओभरमा १०७ रनमै समेटियो।
खराब प्रदर्शन गरेको न्युजिल्याण्डले २० रनको योगफलमा ४ विकेट गुमाईसकेको थियो। उसका जकोब भुला ५, फिन अल्लेन १३, कप्तान कय्लुम बोषिएर र रचिन रबिन्द्र शून्यमै आउट भए ।
चौथो विकेटको लागि कटेने क्लार्क (३८ रन) र डेल फिल्लिप्स (३१ रन) ले ६६ रनको साझेदारी गरेका थिए तर थप २१ रन जोड्दा ६ विकेट गुमाएपछि न्युजिल्याण्ड भारी अन्तरले पराजित भएको हो।
अफगानिस्तानका लागि मुजीब ज़द्रान र कासिस अहमदले समान ४-४ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रनको योगफल तयार पारेको थियो ।
उसका लागि ओपनरद्वय रह्मनुल्लाह गुर्बाज़ तथा इब्राहिम ज़द्रानले पहिलो विकेटको लागि ११७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए। रह्मनुल्लाह गुर्बाज़ले ६७ बलमा ६९ रन बनाए भने इब्राहिम ज़द्रानले ९८ बलमा ६८ रन प्रहार गरेका थिए।
त्यस्तै बहीर शाहले अविजित ७२ बलमा ६७ रनको पारि खेले। यस्तै अज्मतुल्लाह ओमार्जाईले विस्फोटक पारि खेल्नेक्रममा २३ बलमा ६६ रन बनाए। ३ चौका र ७ छक्का प्रहार गरेका उनले १८ बलमै अर्धशतक प्रहार गरेका थिए।
न्युजिल्याण्डका सन्दीप पाटिलले २ विकेट लिए।